मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका मकवानपुर
२o८२ भदौ २३ सोमबार १o:४७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चितवनको इच्छाकामनामा चेपाङले मनाए न्वागीपर्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १o:४७:oo

सीमान्तकृत चेपाङ (प्रजा) समुदायले ‘न्वागीपर्व’ चितवनको इच्छाकामना गाउँपालिकामा भव्य रूपमा मनाएका छन् । नयाँ बाली खानुअघि पितृ र भूमिलाई पूजा गर्ने प्राचीन परम्परासहित मनाइने यस पर्व बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ र तनहुँ जिल्लामा समेत धुमधामका साथ मनाइन्छ ।

अघिल्लो वर्ष धादिङको गजुरी गाउँपालिकामा विशेष पूजाआजासाथ मनाइएको न्वागीपर्व यस वर्ष चितवनको इच्छाकामना गाउँपालिकामा मनाइएको हो । पर्व मनाउन चितवनसहित मकवानपुर, धादिङ, गोरखा र छिमेकी जिल्लाका चेपाङ समुदायका मानिसको उपस्थिति थियो । चेपाङ भाषामा ‘न्वागी’लाई ‘छोनाम’ भनिन्छ । न्वागीमा छरछिमेकी र नातागोता बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने र आपसी सुख–दुःख साट्ने परम्परा छ । यस पर्वलाई ‘पान्देई घ्यासा’ पनि भन्ने गरिन्छ । यस पर्वको मुख्य आकर्षण भनेको मध्यराति झाँक्री (पान्दे)हरूले फलाक्नु पनि हो । बन्द कोठामा रुद्राक्षमाला धारण गरेका झाँक्रीहरू एकपाके ढ्यांग्रो ठटाउँदै रातभर सिमेभुमे फलाकेर पितृ र भूमिलाई खुसी पार्ने चलन छ ।

 नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार यस पर्वमा कागुनो, सामा, घैया, गाभा, निबुवा, घिरौलालगायत नयाँ बाली र कन्दमूल पितृलाई चढाइन्छ । पितृलाई नबुझाई र भूमिलाई धन्यवाद नदिई नयाँ अन्न खाएमा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास छ । ‘त्यसैले न्वागीलाई पितृ र भूमिपूजाको पर्व मानिन्छ,’ उनले भने, ‘यस अवसरमा भेला भएर ढ्यांग्रो बजाउने, टीका लगाउने र आशीर्वाद थाप्ने संस्कार परापूर्वकालदेखि चल्दै आएको छ ।’

चेपाङ प्रकृतिपूजक समुदायका रूपमा चिनिन्छ । उनीहरूको जीविकोपार्जन जमिनमा खोरिया खन्ने, जंगलमा सिकार गर्ने र खोलानाला तथा नदीमा माछा मार्ने परम्परागत पेसासँग जोडिएको छ । जल, जंगल र जमिनलाई जीवनको आधार मानेर सधैँ पूजा गर्ने संस्कारले न्वागीपर्वलाई अझ विशेष बनाएको हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ बसोबास गर्छन् । सूचीकृत ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । चितवन, मकवानपुर र धादिङमा सबैभन्दा ठूलो संख्यामा बसोबास छ भने गोरखा, तनहुँ, लमजुङदेखि झापा, इलाम, दाङ र बर्दियासम्म २६ जिल्लामा उनीहरूको उपस्थिति छ ।