मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार o८:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उल्टो बाटोमा हिँडेको भन्दै सरकारलाई दबाब दिन हेटौँडामा पनि जेन–जीको प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार o८:१९:oo

सरकार ‘उल्टो बाटो’मा हिँडिरहेको भन्दै सुल्टो बाटोमा हिँड्न दबाब दिने उद्देश्यले सोमबार हेटौँडामा पनि जेन–जी पुस्ताले प्रदर्शन गर्ने भएको छ । देशमा व्याप्त भ्रष्टाचार, भ्रष्टाचारीलाई उन्मुक्ति दिने, नातावाद, कृपावादमा लिप्त, अभिव्यक्ति स्वतन्त्रताका विरुद्धको कदम, युवाको आवाज दबाउने सरकारको कुचेष्टाजस्ता सरकारको उल्टो कदमको विरुद्धमा प्रदर्शन गर्न लागिएको जेन–जी पुस्ताले जनाएको छ ।

सोमबार बिहान १० बजे स्वस्फूर्त सडकमा उत्रिने जेन–जी पुस्ताले हेटौँडा उपमहानगरपालिकाको गेटअगाडि भेला भएर केहीबेर ब्यानर र पम्प्लेट प्रदर्शनपछि हेटौँडाको बुद्धचोकसम्म पैदल यात्रा गर्ने जेन–जी पुस्ताका मनीष डंगोलले जानकारी दिए । उनका अनुसार करिब दुईदेखि तीन सयको हाराहारीमा उपस्थित हुने अनुमान गरिएको जेन–जी पुस्ताले भद्र र शान्तिपूर्ण ढंगबाट सरकारलाई दबाब दिनेछ ।

‘हामी सोमबार बिहान १० बजे हेटौँडा उपमहानगरपालिकाअगाडि भेला भएर केहीबेर शान्तिपूर्ण प्रदर्शनपछि बुद्धचोकसम्म पैदल यात्रा गर्छौँ,’ उनले भने, ‘हाम्रो उद्देश्य उल्टो बाटोमा हिँडिरहेको सरकारलाई सुल्टो बाटोमा हिँड्न दबाब दिने हो ।’ यस्तै अर्का जेन–जी पुस्ताका समीर सापकोटाले बुद्धचोकमा भेला भएका जेन–जीले केहीबेर उल्टो हिँडेर पनि सांकेतिक रूपमा सरकारको विरोध गर्ने बताए । ‘उल्टो हिँडेर दुर्घटना हुन्छ, सुल्टो हिँडौँ भन्ने हाम्रो सरकारलाई सांकेतिक दबाब हुन्छ,’ उनले भने ।

वर्तमान सरकार र विभिन्न दलका नेतृत्वहरूले युवाको भावनाविपरीत गतिविधि गरिरहेको उनीहरूको ठहर छ । सरकार र राजनीतिक दलहरूमा जवाफदेहिताको कमी भएकाले उनीहरूलाई सही ट्रयाकमा ल्याउनु आफूहरूको उद्देश्य रहेको जेन–जीको भनाइ छ ।

आफूहरू कसैको दबाब र प्रभावमा नभई स्वस्फूर्त प्रदर्शनमा उत्रिन लागेको अर्का जेन–जी सागर लामिछाने बताउँछन् । उनले आफूहरू देशव्यापी रूपमा हुन लागिरहेको जेन–जीको प्रदर्शनकै एक हिस्सा भएको दाबी गरे । आफूहरू विभिन्न सामाजिक सञ्जालका प्लाटफर्म, भेटघाट र फोन सम्पर्कबाट एकीकृत हुने प्रयासमा रहेको उनको भनाइ छ ।

उनले सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने, युवाको सिर्जनशीलतामा आघात पुर्‍याउनेजस्ता गतिविधि गरिरहेकोले प्रदर्शनमा उत्रनुपरेको बताए । उनले सरकारले जेन–जी पुस्ताको आवाजलाई दबाउन खोजे त्यसको परिणाम भयावह हुने र सरकार र राजनीतिक दलहरूले थेग्न नसक्ने दाबी गरे ।