१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १२ बुधबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १२ बुधबार २२:४८:oo
Read Time : < 1 मिनेट
समाचार

पार्टीको कमिटमेन्ट नआएसम्म विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोकिँदैन : शिक्षामन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १२ बुधबार २२:४८:oo

शिक्षामन्त्री विद्या भट्टराईले विश्वविद्यालयलाई मन्त्रालयले हस्तक्षेप गर्न नसक्ने बताएकी छिन् । बुधबार मन्त्रालयको सभाहलमा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनले त्रिविको आफ्नै ऐन–कानुन भएकाले त्यसलाई मन्त्रालयले चाहेर पनि हस्तक्षेप गर्न नसक्ने दाबी गरिन् ।

‘विश्वविद्यालयलाई मन्त्रालयले हस्तक्षेप गर्न सक्दैन, उसको आफ्नै ऐन–कानुन छ,’ उनले भनिन्, ‘मन्त्रालयले विश्वविद्यालयमा सीधै प्रवेश गर्न मिल्दैन, राजनीतिक हस्तक्षेपका घटनामा मन्त्रालय हाबी हुने हो भने टसल हुन्छ, समाधान हुँदैन ।’ उनले विश्वविद्यालयका राजनीतिक हस्तक्षेप रोक्न दलहरूको प्रतिबद्धता चाहिने बताइन् । अन्यथा मन्त्रालयले मात्रै चाहेर त्रिभुवन विश्वविद्यालयको राजनीतिक हस्तक्षेप अन्त्य नहुने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले त्रिविका पदाधिकारीको सुरक्षा माग गरेको विषय जायज भएको जिकिर गर्दै मन्त्रालयले सुरक्षा माग गर्दा सार्वजनिक रूपमा माग्नुपर्ने बताइन् । ‘सुरक्षा निकाय गृह मन्त्रालयअन्तर्गत पर्छ, शिक्षाअन्तर्गत होइन, त्यसैले सार्वजनिक रूपमा सुरक्षा माग गरेकी हुँ, यसको मतलब गृहमन्त्रीले सहयोग गर्नुभएन भन्ने होइन,’ उनले भनिन्, ‘विश्वविद्यालयका राजनीतिक हस्तक्षेपका घटना रोक्न दलहरूको प्रतिबद्धता चाहिन्छ, पार्टी कमिटमेन्ट नआएसम्म केही हुन्न ।’ उनले आफू मन्त्री पदमा नियुक्ति भएको करिब डेढ महिनामा शिक्षामा देखिएका समसामयिक समस्या समाधानमा पहल गरेको, मातहतका निकायसँग छलफल र समन्वय गरेको, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ सार्वजनिक गरेकोलगायत जानकारी दिइन् ।