१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ११ मंगलबार २१:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पदमार्गमा बेपत्ता दुईमध्ये एक पर्यटक खोलामा मृत भेटिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार २१:४७:oo

                                                                                                                                अन्नपूर्ण पदमार्गमा आइतबारदेखि बेपत्ता दुई स्पेनिस पर्यटकमध्ये मंगलबार एक पुरुषको शव फेला परेको छ। महिला पर्यटकको अवस्था अझै अज्ञात छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका- ९, तिखेढुंगाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार स्पेनी नागरिक वर्ष ३७ का इरिक सोलर कासानोभास र वर्ष ३२ की मर्स मोलास जुन्का बेपत्ता भएका थिए।

आइतबार साझ ६ बजेतिर तिखेढुंगास्थित मौजाखोलानजिकै रहेको गोरेटो बाटोमा बेवारिसे अवस्थामा दुईवटा झोला भेटिएका थिए।

सूचना पाएपछि बिरेठाँटीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले सो झोला बिरेठाँटी ल्याएको थियो। त्यसपछि वडा प्रहरी कार्यालय बगरबाट गएको टोली, अन्नपूर्ण- ८ का वडाध्यक्ष विजय गुरुङ र एक्यापका प्रतिनिधि यमबहादुर गुरुङको रोहबरमा झोला खोली हेर्दा दुईजनाको पासपोर्ट, पोको कम्पनीको (स्क्रिन टच) मोबाइल एक थान, पासपोर्ट साइजको फोटो, विभिन्न कपडालगायतका सामानहरू दुईवटा झोलामा भेटिएका थिए।    

दुई पर्यटक बेपत्ता भएपछि बिरेठाँटीबाट पर्यटक प्रहरीसमेत सातजना र सशस्त्र प्रहरी नम्बर २४ हेडक्वाटर मालेपाटनबाट सातजनाको टोली खटिई खोजतलास सुरु गरेको थियो।

 सोही क्रममा बेपत्ता दुईमध्ये कासानोभासको शव उनीहरू बेपत्ता भएको स्थानभन्दा करिब एक हजार पाँच सय मिटर तल अन्नपूर्ण ९ स्थित भुरुंदी खोलामा फेला परेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। 

अर्का एकजनाको खोजतलासको काम भैरहेको गुरुङले बताए। ६ भदौमा  नेपाल आएका उनीहरू बिरेठाँटीस्थित पर्यटक चेकपोस्टमा आइतबार अर्थात् ९ भदौका दिन बिहान १० बजेर २१ मिनेटमा नाम दर्ता गराएर कास्कीको उल्लेरी हुँदै म्याग्दीको घोरेपानी जाने भनी हिँडेका थिए।

सोमबार खोलाको छेउछाउमा खोजतलास गर्ने क्रममा टोपी एक थान, टिसर्ट एक थान, आल्मुनियमको स्टिक (लौरी) एक थान, जिपिएर एक थान र झरनाको फेदीमा दुई थान ट्रेकिङ स्टिकसमेत फेला परेको थियो।