१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ११ मंगलबार २o:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती मिर्गौला बेच्न लगाएको आरोपमा दुई पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार २o:३२:oo

आर्थिक प्रलोभनमा पारेर जबर्जस्ती मिर्गौला बेच्न लगाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका- २ की ४२ वर्षीया शान्तिमाया घलान छन्। 

 

मानव बेचबिखन अनुसन्धान ब्युराेले खत्रीलाई आइतबार र घलानलाई मंगलबार पक्राउ गरेको हो। उनीहरूले नुवकोटका २८ वर्षीय युवालाई १० लाख रुपैयाँ दिने प्रलोभनमा जबर्जस्ती मिर्गौला बेच्न लगाएका थिए। यसका लागि युवालाई भारतको कोलकाता लगिएको थियो। पक्राउ परेकाहरू सोही धन्दामा संलग्नमध्येका रहेको ब्युरो प्रवक्ता एसपी गौतम मिश्रले बताए।

उनले भने, ‘१० लाख रुपैयाँ दिने प्रलोभनमा एक युवालाई जबर्जस्ती मिर्गौला बेच्न लगाएछन्। यसका लागि युवालाई कोलकाता पुर्‍याएछन्। अनेक धाकधम्की दिएपछि युवालाई मिर्गौला बेच्न लगाएका रहेछन्। तर, रकम भने दिएनछन्। त्यसपछि युवा नेपाल फर्किएर जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।’

ब्युरोका अनुसार युवाको आर्थिक अवस्था कमजोर छ। दश लाख रुपैयाँ दिने प्रलोभनमा आरोपीहरूले युवालाई मिर्गौला बेच्न सहमत गराएका थिए। त्यसपछि युवालाई काठमाडौंबाट सुमो चढाएर वीरगन्ज लगिएको थियो। वीरगन्जबाट रेल हुँदै कोलकता पुर्‍याइएको थियो।

मिर्गौला बेच्ने गिरोहका सदस्यले सबै कागजात नक्कली बनाएका थिए। सोही कागजातका आधारमा नाता प्रमाणित गरी युवालाई मिर्गौला बेच्न भनेका थिए। 

तर, कबुल गरेको रकम ‘ट्रान्सप्लान’पछि दिने भनेपछि युवा अस्पतालबाट भागेका थिए। पछि गिरोहका सदस्यले उनलाई पक्राउ गरेका थिए। त्यसपछि पनि उनलाई अनेक प्रलोभन दिएका थिए। युवा नमानेपछि भने ज्यान मार्ने धम्की दिएका थिए। डराएका युवा मिर्गौला दिन राजी भएका थिए। 

मिर्गौला ‘ट्रान्सप्लान’पछि युवालाई केही रकम दिएर नेपाल पठाएका थिए। त्यसपछि पीडित युवा नेपाल आएर प्रहरीमा जाहेरी दिएका थिए। गिरोहमा अन्य सदस्य पनि संलग्न रहेको हुँदा खोजी कार्य तीव्र पारिएको ब्युरो प्रवक्ता एसपी मिश्रले जानकारी दिए।