१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ११ मंगलबार १९:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्बोधन नगरी फर्किए राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार १९:५o:oo

राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक भगवती रथयात्राको अवलोकन गरेका छन्।मंगलबार पाल्पा सदरमुकाम तानसेन आएका पौडेलले त्यस क्रममा सम्बोधन भने गरेनन्।

नेपालले जितगढी युद्धमा अंग्रेजलाई हराएको सम्झनामा २०५ वर्षअगाडिबाट विजयोत्सवस्वरूप भगवतीको रथयात्रा भव्यताका साथ मनाइने गरिन्छ। यसपटक भगवती मन्दिर गुठी व्यवस्थापन समितिले राष्ट्रपति पौडेललाई आमन्त्रण गरेको थियो।

आयोजकको आशा थियो, राष्ट्रपति पौडेलले त्रिपालले छोपिएको भगवती मन्दिर देखेर त्यसको मर्मत सम्भारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नेछन्। तर, त्यसो भएन। पूर्वनिर्धारित कार्यक्रम तालिका छोट्याएर राष्ट्रपति पौडेल सम्बोधन नै नगरी फर्किए।

राष्ट्रपतिको सम्बोधनको तालिका भए पनि सुरक्षाको कारण भन्दै सम्बोधन रद्द गरिएको आयोजक भगवती मन्दिर गुढी व्यवस्थापन समितिका सचिव प्रकाशनाथ ग‌ंगोलले बताए। ‘हामीले पहिले नै कार्यक्रम तालिका पठाएका थियौँ, उताबाट फाइनल पनि भएको हो, तर यहाँ आएपछि नबोल्ने भन्ने भयो,’ सचिव गंगोलले भने, ‘केही प्रतिबद्धता हुन्छ भन्ने आशा थियो।’

स्रोतका अनुसार छतमा अवलोकन गर्नका लागि बनाइएको सानो मञ्च, अतिथिहरूको ठुलो संख्याजस्ता कारणले सुरक्षा चुनौती देखिएको भन्दै कार्यक्रम छोट्याइएको हो।

राष्ट्रपतिका साथै भगवती रथयात्रा अवलोकनका लागि रक्षामन्त्री मानवीर राई, पर्यटनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, पाल्पाबाट निर्वाचित संघीय सांसद ठाकुर गैरे, नारायण आचार्य तथा लुम्बिनी प्रदेश सभाका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेम सारूलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए।

 राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेलले पुरातत्व विभागमार्फत भगवती मन्दिरको पुनर्निर्माणका लागि ध्यानाकर्षण गराउने जानकारी गराएको बताए।