१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ११ मंगलबार १४:४६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

जनताको शक्तिलाई कम नठान्न अध्यक्ष प्रचण्डको चेतावनी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार १४:४६:oo

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरू बलियो प्रतिपक्षको रूपमा अघि बढ्ने बताए।

‘यो सम्मानित संसदमा मैले पटकपटक भनिरहेको छु, आमजनतामा ठूलो निराशा र मोहभंग छ, ठूलो असन्तोष छ । यो संसद्सहित हामी सबै दल जनताको ठुलो निगरानीमा छौँ । कांग्रेस र एमालेका साथीहरूलाई मेरो अनुरोध छ, जनता अहिलेको राजनीतिक शैलीसँग, चरित्रसँग, व्यवहारसँग रिसाएको छ,’ उनले भने, ‘प्राविधिक रूपमा तपाईंहरू ठुला हुनुहोला, तर जनतासँगको तपाईंहरूको सम्बन्ध एकदमै कमजोर भएको छ । जनतामा ठुलो असन्तोष, घृणा र आक्रोश छ । लोकतन्त्रको सर्भिसिङविना अब जनतालाई आश्वस्त गर्न सकिँदैन। यही भएर हामीले सुशासनको एउटा अभियान सुरु गरेका थियौँ, त्यसलाई तपाईंहरूले भत्काइसक्नुभयो । दुई ठुला पार्टी मिलेर बेथिति थप्दै जाँदा कतै यो व्यवस्था नै संकटमा पर्ने हो कि भन्ने मेरो चिन्ता छ ।’

उनले जनताका असन्तोषलाई कम नआँक्न चेतावनी दिए।

‘सत्तासीन साथीहरूलाई मेरो अनुरोध छ, संख्याको भ्रममा नपरौँ, सत्यसँग साक्षात्कार गरौँ । धेरै टाढाका, अघिका, इतिहासका ठुला शिक्षा म भन्दिनँ, छेवैका श्रीलंका र बंगलादेशका घटनाबाट सिकौँ । श्रीलंकामा राजापाक्षेजी संख्याको संकटले बाहिरिनुभएको हो ? होइन,’ अध्यक्ष प्रचण्डले भने, ‘बंगलादेशी पार्लियामेन्टलाई त अवामी लिग र त्यही गठबन्धनको एकलौटी प्रतिनिधित्वको वन पार्टी पार्लियामेन्ट  भनिन्थ्यो । त्यो थियो, अस्ति जनवरीको निर्वाचनको परिणाम, हाम्रोभन्दा तेह्र महिना कान्छो । तपाईंहरू जोडतोडको दुईतिहाइको घमण्डमा हुनुहुन्छ भने यो घमण्डबाट ब्युँझनोस् । जनताको विवेकको अवमूल्यन नगर्नोस्।’  

उनले आफूहरू रचनात्मक प्रतिपक्ष बन्ने धारणा राखे।

‘यो संसद् विश्वस्त होस्,  हामी न निरपेक्ष प्रतिपक्ष बन्नेछौँ, न त निरीह प्रतिपक्ष । हामी रचनात्मक र सिर्जनात्मक प्रतिपक्ष बन्नेछौँ, यो सम्मानित संसदमा जनताको आवाज बन्नेछौँ । आफू बस्न नपाएपछि कुर्सी नै भाँच्ने, प्रणाली नै भत्काउने शैली र चरित्र हाम्रो होइन,’ उनले थपे, ‘देशको हितमा राम्रो गर्नोस्, हामी साथ दिन्छौँ । संविधान निर्माणका वेला म प्रमुख प्रतिपक्षी दलकै नेता थिएँ, तर कतिपय अवस्थामा मैले सत्तापक्षबीचमै पनि संयोजनकारी भूमिका निर्वाह गरेँ । त्यो भूमिका यो संसद् र इतिहासमा लिपिबद्ध छ । शान्ति प्रक्रियाको तार्किक निरुपणमा सरकारको सकारात्मक भूमिकालाई मैले रोस्टमबाटै खुला प्रशंसा र समर्थन गरिसकेको छु । विश्वविद्यालयहरूमा सकारात्मक परिवर्तनका लागि अग्रसरता लिऊँ, हामी सँगै उभिन्छौँ । उद्यमशीलताका लागि आवश्यक नीतिगत र व्यावहारिक सुधारमा अग्रसरता लिऊँ, हामी साथ दिन्छौँ ।’ 

आज  केवल खबरदारी गर्न उपस्थित भएको उल्लेख गर्दै उनले भने, ‘सरकारलाई मेरो विनम्र आग्रह छ, यो खबरदारीलाई कर्मकाण्ड नसम्झनुहोला । यही खबरदारी हामी सडकमा पनि गर्दै छौँ ।  सरकारका प्राथमिकताहरू विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेका छन्, जनतासँग क्षमायाचनासहित सच्याउनोस् । विद्युत् प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ, रोक्नोस् । भुटानी शरणार्थी काण्डलाई जता पुर्‍याउन र इमानदार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, त्यो नगर्नोस् । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ, रोकिनोस् । गिरीबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरूमा रफु भर्दै हुनुहुन्छ, सुध्रिनोस् । हिजो आफैँ प्रधानमन्त्री हुँदा बनाएका वैदेशिक श्रमका मापदण्ड मानवतस्करका लागि उल्ट्याउँदै हुनुहुन्छ, त्यता नलाग्नोस् । अझै पनि सुध्रिनोस् र सच्चिनोस् ।’  

बिचौलियाहरूलाई रोस्टमबाटै सन्देश पठाउँदै अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूले रचना गरेको सरकार तपाईंहरूको धेरै सेवा गर्न चाहन्छ, तर यसको सामर्थ्य छैन । सामर्थ्य यसकारण छैन कि खबरदारी गर्न हामी प्रतिपक्ष छौँ । सामर्थ्य यसकारण छैन कि सरकार र माफिया दुवै एक्सपोज्ड छन् । बिजुलीकै बिललाई टेस्ट–केस माने हुन्छ । कुन हतियार चलाएन माफियाले ? आफूले सक्ने मिडिया चलाएन कि ? संसद्का समिति चलाएन कि ? डेडिकेटेड र ट्रंकलाइनमाथि बोल्न थालेपछि सम्मानित संसदमै सांसदको माइक काटिएन कि ? सरकार र अझ सरकारको शिर नै चलाएन कि ? यही रोस्टम चलाएन कि ? देखिने गरी सबै चलायो ।’

उनले सत्तापक्ष नसच्चिए जनता जागिसकेका छन् भन्दै चेतावनी दिए।
‘बिजुलीको आठ अर्ब बक्यौतामा समस्या भएर रोस्टममा उभिएका प्रधानमन्त्री अब फेसबुकबाटै भए पनि २२ अर्ब भन्न थाल्नुभएको छ । विद्युत् प्राधिकरणको यही टेस्ट–केसले भन्छ, अब माफियाभन्दा जनता बलियो भइसकेको छ ।’ अन्त्यमा अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले साथीहरू अब यती, ओम्नी र गिरीबन्धुका पुराना सुमधुर सम्झनाबाट ब्युँझिए हुन्छ । प्रतिपक्ष प्रतिबद्ध छ र जनता जागृत छ । अब सच्चिनु र सुध्रिनुमै सबैको भलो छ ।’