१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ११ मंगलबार १४:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ : प्रचण्ड [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार १४:२२:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरू अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले विभिन्न काण्डमा एक–अर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको बताएका हुन्। 

‘यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोस्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि बिचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त संकाेच मान्नेछ । केही दिन त लाज मान्नेछ,’ उनले भने, ‘तर, सरकार यति हतारमा देखियो कि  बिरालोले म्याउँ गर्न एक हप्ता पनि लागेन । लोडसेडिङको वेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोस्टममा उभिनुभयो । कडा रूपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगाे देश स्तब्ध भयो ।’

यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरू र आफ्नाहरू जोगाउन र जोगिन बनेको उल्लेख गर्दै उनले भने, ‘तैपनि मलाई लागेको थियो, कम्तीमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउति अलमल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुईतिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन।’

भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले सोधे, ‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसबारी, बालमन्दिरलगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो । नयाँ सरकार आयो र के गर्‍याे ? हिजो ती काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गर्‍याे । यसरी हुन्छ दुईतिहाइको सुशासन ?’

विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो टिप्पणी गरे।

‘यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान् र  साहसी प्रहरी अधिकृतहरूलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईंहरू ?’ अध्यक्ष प्रचण्डले पुनः प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?’