मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ११ मंगलबार ११:३o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलवायु परिवर्तनका कारण देखिएका खानेपानी समस्याको समाधानका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री यादव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार ११:३o:oo

खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी समस्याको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन् । सोमबार सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुक्दै जानु र यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता अपरिहार्य रहेको बताए । 

मन्त्री यादवले सेता हिमाल काला हुँदै हिउँ पग्लनु, पहाडमा पानीका मुहान सुक्न थाल्नु र चुरेको दोहनले मधेशमा चापाकलहरू सुक्न थाल्नुलाई जलवायु परिवर्तनका गम्भीर प्रभावहरूका रूपमा औँल्याए। उनले देशभर जलस्रोतको वैज्ञानिक अध्ययन गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

‘विश्वले निकट भविष्यमा पानीकै कारण ठुलो चुनौती सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ । नेपालले समस्या गम्भीर बन्नुअघि नै सजग हुन आवश्यक छ,’ मन्त्री यादवले भने। उनले खानेपानीसम्बन्धी ऐन, नियमावलीहरूमा कुनै समस्या भएमा समाधान गर्दै अगाडि बढ्न सकिने स्पष्ट पारे । 

उपभोक्ता महासंघलाई जनताको घरसम्म पुगेर लाखौँलाई खानेपानी उपलब्ध गराएकोमा धन्यवाद दिँदै मन्त्री यादवले बिजुली र अन्य सुविधामा छुटको व्यवस्था आवश्यक रहेको बताए।  साथै, उनले साना उपभोक्ता संस्थाहरूलाई एकीकृत गरी काम गर्नुपर्ने सुझाए ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिहरूलाई व्यावसायिक उद्देश्य राखेर अघि बढ्न आग्रह गरे। महासंघका अध्यक्ष राजेन्द्र अर्यालले कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै खानेपानीका सबै पहलमा समन्वय आवश्यक रहेको औँल्याए। 

गोष्ठीमा विभिन्न निर्माण तथा मर्मत कार्य, पाइप बिछ्याउने समन्वय र अन्य चुनौतीबारे चर्चा गर्दै विशेषज्ञहरूले गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा २५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसै अवसरमा मन्त्री यादवले चितवनमा रहेका विभिन्न खानेपानी आयोजनाको अनुगमन गर्दै वर्तमान स्थिति र चुनौतीहरूको अवलोकन गरे । उनले आयोजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालनका लागि निर्देशन पनि दिए ।