१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १० सोमबार
  • Friday, 13 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ १० सोमबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रथयात्राको भिडबाट बिरुवा जोगाउन विराटनगरमा दुई सय युवा परिचालन गरिने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ १० सोमबार १८:४९:oo

कृष्ण जन्माष्टमीको भोलिपल्ट मंगलबार आयोजना हुने राधाकृष्ण रथयात्राको भिडबाट फूल तथा बिरुवा जोगाउन विराटनगर महानगरपालिकाले दुई सय युवा स्वयंसेवक परिचान गर्ने भएको छ। सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका बिरुवा र फूलको संरक्षणका लागि अभिमुखीकरण गराएर दुई सय स्वयंसेवक रूपमा परिचालन गर्न लागेको हो।

विराटनगरस्थित बरगाछी–रानी सडकखण्डको बिचमा विराटनगर महानगरपालिकाले भर्खरै मात्र तारजाली लगाएर फूल र बिरुवा रोपेको छ। रोपेका बिरुवा रथयात्रामा आएको भिडले कुल्चेर र भाँचेर नष्ट नगरोस् भनेर दुई सय स्वयंसेवक परिचालन गर्न लागेको विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताए। उनका अनुसार मंगलबार राधाकृष्ण रथयात्राका क्रममा दुई सय युवाहरू ‘नगर प्रहरी मेरो साथी’ लेखेको भेस्ट लगाएर खटिनेछन्। उनीहरूले फूल बिरुवा नष्ट हुन नदिन निगरानीका साथै फोहाेरमैला व्यवस्थापनमा पनि सहयोग गर्नेछन्।

हरियाली अभियन्ताहरूले पनि निगरानी गर्ने
विराटनगरको उत्तर पहाडदेखि दक्षिण रानी नाकासम्म ८ किलोमिटर क्षेत्रमा रोपिएका तीन हजार बिरुवाको रेखदेख गर्न विराटनगरका हरियाली अभियन्ताहरूले पनि निगरानी गर्नेछन्। उत्तर पहाडदेखि रानी नाकासम्म कोशी राजमार्गको दुवै किनारमा विराटनगरवासीहरूले हरियाली अभियान सञ्चालन गरेर स्वतस्फुर्त रूपमा बिरुवा रोपेका छन्।

रथयात्राको भिडले नष्ट नगरोस् भनेर आफूहरूले सकेसम्म निगरानी गर्ने हरियाली अभियन्ता पारुल क्षेत्रीले बताए। उनका अनुसार रथयात्रामा बिरुवा जोगाउन विभिन्न दाताहरूको सहयोगमा उपलब्ध भएसम्म ‘ट्रिगार्ड’ बनाएर संरक्षण प्रयास गरिएको छ। तर, ‘ट्रिगार्ड’नलागेका बिरुवाहरू रथयात्रामा आउनेहरूले नष्ट गर्ने जोखिम छ। यसैले हरियाली अभियन्ताहरूले बिहान माइकिङ गरेर तथा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गरेर बिरुवाको संरक्षणमा सहयोग गर्न नगरवासीलाई आग्रह गरेका छन्।

नगरवासीले स्वतस्फुर्त हरियाली अभियान सञ्चालन गरेर रोपेका बिरुवाहरूको संरक्षण गर्न भने महानगरपालिकाले चासो दिएको छैन। यसमा अभियन्ता आफैँ खटिन लागेका हुन्।