१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार २o:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समीक्षा बैठकको नाममा दमकका मेयर थापाले गरे सरकारी सवारीको दुरुपयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार २o:११:oo

दमक नगरपालिकाले दमकमा निर्माणाधीन सडकको विषयमा समीक्षा बैठक बस्ने बहानामा इलामा पुगेर मदिरा पार्टी गरेको छ।

दमक नगरपालिकाको सरकारी सवारीको लावालस्कर लगाएर इलामको रोङमा पुगेर मदिरा पार्टी गरेको भिडियो सार्वजनिक भएको हो।

विश्व बैंकको सहयोगमा दमकमा बन्दै गरेको मदनडाँगी–ताराबारी-डिपु सडकको समीक्षा बैठकका लागि दमक नगरपालिकाको जम्बो टोली इलामको रोङ गाउँपालिका-६, स्थित सलकपुर पुगेको थियो। सडकको गुनासो निधान समितिको बैठकका लागि टिमसहित नगरपालिका त्यहाँ पुगेको हो। 

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापासहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत गणेश कार्की, निर्माण व्यवसायी र नगरपालिकाका शाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरू शुक्रबार त्यहाँ पुगेका थिए।

नगरपालिकाका तीनवटा सरकारी गाडीसहित पुगेको जम्बो टोलीले त्यहाँको एक होटेलमा मदिरा सेवन गरेपछि एक पत्रकारले भिडियो खिचेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि नगरप्रमुख थापाको आलोचना सुरु भएको छ।

नगरप्रमुख थापाले आफूले सरकारी खर्चमा मितव्ययी अपनाएको, नगरपालिकाको इन्धन खर्च घटाएको दाबी गर्दै आए पनि उनी सरकारी सवारीको दुरुपयोग गर्दै सिंगो टिमसहित सलकपुर पुगेका हुन्।

नगरप्रमुख थापाले दुई वर्षअघि निर्वाचित हुनेबित्तिकै नगरको पैसाले चियासमेत नखाने दाबी गरेका थिए। त्यति मात्र हैन, उनले भ्रष्टाचार नगर्ने भन्दै शपथलगत्तै नगरपालिकानजिकैको एक मन्दिरमा कसमसमेत खाएका थिए। तर, सरकारी गाडीको दुरुपयोग गरेका हुन्। नगरपालिकाले योपटक मात्र हैन, यसअघि पनि बैठक नगरबाहिर विभिन्न ठाउँमा गर्दै सरकारी गाडी र सम्पत्तिको दुरुपयोग गर्दै आएको छ। 

नयाँ पत्रिकालाई प्राप्त भिडियोअनुसार नगरका तीनवटा सरकारी गाडी त्यहाँ पुगेको देखिन्छ। भिडियोमा त्यहाँ पुगेकाहरू मदिरा सेवनमा देखिन्छन्। रोङ-६, सलकपुर दमकदेखि करिब ७० किलोमिटर टाढा पर्छ। त्यहाँ पुग्न पहाडी कच्ची बाटोको पनि यात्रा गर्नुपर्छ।

बैठक बस्ने बहानामा मनोरञ्जन गर्न पुगेको टोली पत्रकारले भिडियो खिचेपछि बैठक नै नबसी शुक्रबार नै फर्किएको थियो। नगरपालिका स्रोतका अनुसार सलकपुर पुगेको टिम शुक्रबार त्यहीँ मनोरञ्जन गरेर शनिबार बैठक बसेर फर्कने योजनामा थियो।

यसबारेमा कुराकानी गर्न खोज्दा दमक नगरपालिकाका नगरप्रमुख थापाले आफू व्यस्त भएको बताए। नगर प्रवक्ता धर्मप्रसाद दाहालले नगरप्रमुखसहितको टिम सलकपुर पुगेको पुष्टि गरे। उनले मदनडाँगी–ताराबारी-डिपु सडकको गुनासो समितिको बैठकका लागि टिम पुगेको बताए।

उनले सडक पर्ने वडाका जनप्रतिनिधि र कर्मचारी त्यहाँ पुगेको बताए। प्रवक्ता दाहालले त्यसबारेमा थप बुझ्न नगरप्रमुख थापासँग सम्पर्क हुन नसकेको बताए। 'यसबारेमा थाहा पाएपछि बुझ्न खोजेँ। मेयरसाब व्यस्त भएर होला, कुराकानी हुन सकेको छैन,' उनले भने। 

सरकारी गाडीको दुरुपयोगको सन्दर्भमा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले विवरण संकलन गरिरहेको बताए। 'मैले पनि भिडियोहरू हेरिरहेको छु। विवरण संकलन गरिरहेको छु,' उनले भने,' प्रदेशका कार्यालयहरूले जिल्लाबाहिर जाँदा हामीसँग अनुमति लिने प्रचलन छ। तर, स्थानीय तहले छुट्टै सरकार भनेर लिने गरेका छैनन्।'