१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
गोलभेंडाको विरुवा काँटछाँट गर्दै टुनिबोटका भोलाप्रसाद बुढाथोकी (बायाँ) र लिलावती राना (दायाँ)
२o८१ भदौ ९ आइतबार १८:o१:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

तरकारी खेतीले ल्याएको परिवर्तन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १८:o१:oo

सल्यानको कपुरकोट गाउँपालिका–३, धैरेनीका सुकबहादुर बुढाले २०४२ सालदेखि तरकारी खेती सुरु गरेका हुन्। त्यो वेला बारीमा फलेको तरकारी बेच्नकै लागि डोकोमा बोकेर दाङको तुलसीपुर जानुपर्थ्याे। तरकारी फलाउनभन्दा बेच्न मुस्किल भएपछि उनले तरकारी खेती गर्न छोडे। तरकारी रोप्ने बारीमा मकै, धान, गहुँलगायतका बाली लगाउँदै आएका थिए।

कपुरकोट क्षेत्रमा बेमौसमी तरकारीको सम्भावना देखेर झन्डै दुई दशकपछि उनले फेरि तरकारी खेती सुरु गरे। त्यसवेला किसानले फलाएको तरकारी एकीकृत गरेर हाटबजारमार्फत बिक्री गर्न सुरुवात भएको थियो। ‘त्यो वेला पनि डोकोमा बोकेर तरकारी हाटबजारसम्म लैजान धौ (कठिन) थियो,’ विगत सम्झँदै उनी भन्छन्, ‘जब गाउँमै सडक आयो, तरकारी किन्न गाडी ल्याएर व्यापारी घरसम्मै आउने भए, बजार पठाउन समस्या भएन, अनि तरकारी खेतीमा लाग्ने जाँगर चल्यो।’

उनले यो वर्ष डेढ बिघाभन्दा बढी क्षेत्रमा तरकारी खेती गरेका छन्। ‘टमाटर, काउली, बन्दागोभी, प्याज, सिमी, भेडेखुर्सानी सबै गर्दा डेढ बिघा जति होला, पहिले घरखर्च चलाउन पुग्थ्यो, तीन वर्षदेखि बचत हुन थालेको छ, वर्षमा १२ लाख आम्दानी हुन्छ, खर्च कटायो भने पनि आधा बढी बचत हुन्छ,’ बुढाले भने। तरकारी बेचेरै जग्गा पनि जोडेको बताउँदै उनले बजारीकरणमा समस्या नभएको तथा दाङ, नेपालगन्ज, बुटवलबाट व्यापारी बारीमै आउने गरेको सुनाए।

यता, त्रिवेणी गाउँपालिका–५, टुनिबोटका भोलाप्रसाद बुढाथोकी पनि तरकारी खेती गर्दै आएका छन्। सुरुवातका दिनमा घरमै खानका लागि तरकारी खेती गरेका उनले पछिल्लो ७ वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका हुन्। यसपटक मात्रै उनले ८ रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन्। बेमौसमी तरकारी खेती गर्दै आएका उनको खेतबारीमा अहिले लटरम्म गोलभेँडा फलेको छ। गत वर्ष एक सिजनमा ५ लाख आम्दानी गरेका बुढाथोकीले यो वर्ष पनि सोही अनुपातमा आम्दानी हुने अनुमान गरेका छन्। उनले भने, ‘हाम्रो खर्च भनेकै मल, बिउ र विषादीमा बढी हुन्छ। सिँचाइको समस्या छैन। समस्या भनेकै कामदार पाउन मुस्किल छ, तरकारी बिक्री भएन भन्ने हुँदैन। भाउ तलमाथि होला, तर खेतबारीमा कुहिने अवस्था छैन।’

टुनिबोटकै लीलावती रानाले पनि विगत ७ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन्। तीन रोपनीमा तरकारी खेती गर्दै आएकी रानाले यो वर्ष ३ लाख आम्दानी भएको बताइन्। ‘हामीले बेमौसमी तरकारी खेती गर्ने भएकाले ६ महिना उत्पादन गछौँ। ६ महिनामा ३ लाख आम्दानी हुनु भनेको निकै राम्रो हो,’ उनले भनिन्।

टुनिबोट बजारमा हाटबजार लाग्ने भएकाले बजारीकरणका लागि कुनै समस्या नभएको रानाको भनाइ छ। थोरै जमिनमा तरकारी लगाएर धान, गहुँ, मकैलगायतका अन्नबालीभन्दा चारदेखि पाँच गुणासम्म बढी उत्पादन गरिरहेको उनले बताइन्। रानाले भनिन्, ‘यहाँ मेरो तीन रोपनी जमिन छ। ३ रोपनी खेतमा धेरै फले ४ मुरी धान फल्ला। तर, त्यही खेतमा ६ महिनामा मात्रै ३ देखि ४ लाखसम्म तरकारी उत्पादन हुँदै आइरहेको छ।’