१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
अली हासेम
२o८१ भदौ ९ आइतबार o९:३१:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इजरायललाई आक्रमणको धम्की दिएर के चाहन्छन् खामेनी ?

८५ वर्षीय इरानी नेता खामेनीले लिने हरेक कदमले मध्यपूर्वको रणनीतिक परिदृश्यलाई नयाँ आकार दिने गरेको छ

Read Time : > 3 मिनेट
अली हासेम
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o९:३१:oo

जुलाईको अन्त्यमा हमास नेता इस्माइल हानियेको हत्याले तेहरानले लिइरहेको नाजुक सन्तुलन पनि चकनाचुर बनाइदियो । इजरायलले गरेको मानिएको उक्त हत्याले झन् बढी तरंग उत्पन्न गरेको छ । इरान र इजरायलबिचको लामो कालदेखिको द्वन्द्वको पछिल्लो कडी ठानिएको आक्रमण नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको समयमा भएको थियो । आफ्नो पदको जिम्मेवारी राम्ररी बुझिनसक्दै पेजेस्कियानको पोल्टामा भूराजनीतिक गोला फ्याँकिएको छ ।

जहाँसम्म इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कुरा छ, हमास नेताको हत्या आक्रामकताभन्दा बढी उनको अस्तित्वमै चुनौतीको रूपमा आएको छ । हानियेलाई मार्न प्रयोग गरिएको क्षेप्यास्त्र आफ्नै सिमानाभित्रबाट प्रक्षेपण गरिएको इरानको विश्वास छ र यसले आफ्नो सार्वभौमसत्ताको उल्लंघन गरेकाले तेहरान क्रुद्ध छ । अहिले आएर आणविक हतियारको निर्माण, प्रयोग र भण्डारणमा प्रतिबन्ध लगाउन खामेनीले सन् २००३ मा जारी गरेको फतवामाथि प्रकाश पारेका छन् । 

रणनीतिक प्रभाव
एक वरिष्ठ इरानी अधिकारीका अनुसार हानियेको हत्याअघि पनि खामेनीले आणविक हतियार निर्माणविरुद्ध जारी गरेको फतवामाथि उच्च तहमा बहस चलिरहेको थियो । बहस फतवाले इरानको रणनीतिक प्राथमिकतालाई सहयोग गरे–नगरेको विषयमा केन्द्रित थियो । खामेनीले शीतयुद्धको अन्त्यपछिको रूपान्तरणका क्रममा इरानको नेतृत्व गरे । उनकै नेतृत्वमा अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम भयो र छेउछाउका मुलुक अफगानिस्तान, इराक र सिरिया एकपछि अर्को द्वन्द्वमा फसे । विश्वशक्तिसँग इरानको आणविक सम्झौता पनि उनकै निगरानीमा भयो ।

अहिले ८५ वर्षको उमेरमा उनी जीवनकै ठुलो चुनौतीको सामना गर्दै छन्, इस्लामिक गणतन्त्रको भविष्य सुनिश्चित गर्ने । यसका लागि उनले विगतमा जस्तै ‘ग्रे जोन’मा रहेर अर्थात् युद्ध र शान्तिबिचमा रहेर आफ्ना विरोधीलाई दबाब सिर्जना गर्नुपर्नेछ । यिनै जटिलताबिच हानियेको हत्याको तीन साता बितिसक्दा पनि इरानले आफ्ना आगामी कदम स्पष्ट गरेको छैन । यसबिच गाजामा इजरायलले चलाइरहेको क्रूर युद्ध रोकेर युद्धविराम गर्न वार्ताकार सक्रिय भएका छन् । इरानले युद्धविरामका लागि चलिरहेको वार्तामा अवरोध नपुर्‍याउन इजरायलमाथि आक्रमण रोकेको हो ? भन्ने प्रश्नमा संयुक्त राष्ट्र संघका लागि इरानका स्थायी प्रतिनिधि अमिर सइद इरावानीले अल जजिरालाई भने, ‘इरानले अधिकतम असर पार्ने हिसाबले एकदम सोचविचार गरेर आफ्नो जवाफी कदम चाल्नेछ ।’

हानियेको हत्याले इरानका शीर्ष नेतृत्वमाझ गहन बहस निम्त्याएको स्रोतहरूले अल जजिरालाई बताएका छन् । एकथरीले संयमता नै उत्तम मार्ग हुने प्रतिक्रिया दिएका छन् । यस समूहलाई जवाफी हमलाले इरानलाई इजरायलसँग लामो र महँगो युद्धमा तान्ने र यसले तेहरान र यसका क्षेत्रीय सहयोगीलाई कमजोर पार्न सक्ने डर छ । संयम अपनाउनुपर्ने तर्क राख्नेहरू इरानका सबै राजनीतिक गुटमा देखिएका छन् । यो तप्काले अहिलेको संयमतालाई भविष्यमा अमेरिकासँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने गरी हुने वार्तामा लाभका रूपमा उपयोग गर्न सक्ने विश्वास राखेका छन् । 

खामेनीका विकल्प
खामेनी संयमता अपनाउनुपर्ने मतमा सहमत नभएको बताइन्छ । अगस्ट १४ मा अधिकारीहरूसँग कुरा गर्ने क्रममा इरानले आफ्ना शत्रुहरूले प्रयोग गरिरहेको मनोवैज्ञानिक युद्धबाट डराउन नहुने बताए । कुरानको सन्दर्भ उल्लेख गर्दै खामेनीले भने, ‘गैरसामरिक हार स्वीकारले सैन्य, राजनीतिक वा आर्थिक क्षेत्रमा ईश्वरीय क्रोध उत्पन्न गर्नेछ ।’ यद्यपि उनले आगामी मार्गबारे केही संकेत गरेका छैनन् । तथापि उनले अब लिने कदमले मध्यपूर्वको रणनीतिक परिदृश्यलाई नयाँ आकार दिनेछ । आणविक बमको मुद्दाले जटिलता थप बढाएको छ । अहिलेसम्म इरानको आणविक नीति शान्तिपूर्ण प्रयोजनका लागि आणविक प्रविधिको प्रयोग र आणविक हतियारमुक्त क्षेत्रलाई निरन्तरता दिने कुरामा केन्द्रित छ, जुन खामेनीको फतवाअनुरूप पनि देखिन्छ । 

‘व्यापक अर्थमा इरानको आणविक नीति अझै पनि इजरायलजस्तै आणविक अस्पष्टताको श्रेणीमा पर्दैन,’ एक इरानी अधिकारीले भने । उनको संकेत इजरायलको त्यस नीतितर्फ थियो, जसअनुरूप उसले आफूसँग आणविक क्षमता भए पनि बाहिर सार्वजनिक गर्न अस्वीकार गर्दै आएको छ । यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा दिएको मन्तव्यका क्रममा र अर्का इजरायली मन्त्रीले गाजामाथि आणविक हतियारको प्रयोगको चेतावनीलाई इरानले खतराको रूपमा हेर्न सक्छ । यसले इरानलाई आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगको रणनीतिमा पुनर्विचार गर्न प्रेरित गर्न सक्ने ती अधिकारीले बताए । आणविक सम्झौताबाट अमेरिकाको एकपक्षीय बहिर्गमनदेखि नै इरानमा रणनीति बदल्नुपर्ने बहस सुरु भएको अधिकारीहरू बताउँछन् । इरान आफ्नो आणविक कार्यक्रममाथि प्रतिबन्धको बदलामा देशमाथि लगाइएका कैयौँ प्रतिबन्ध हट्ने आशा राखेर आणविक वार्ता गर्न इच्छुक भएको थियो । तर, अमेरिका आणविक सम्झौताबाट बाहिरिएपछि इरानले पहिलेभन्दा पनि ठुलो प्रतिबन्धको सामना गर्नुपरिरहेको छ । 

के आणविक सिद्धान्त परिवर्तन होला ?
‘इरानले आफ्नो राष्ट्रिय सार्वभौमिकतालाई उल्लंघन गरेर आतंककारी गतिविधि गर्ने आक्रमणकारीलाई उचित सजाय दिनुपर्छ । यस क्रममा उसले इजरायली शासनमा गहिरो पश्चात्ताप उत्पन्न गर्ने गरी प्रतिरोध क्षमतालाई बलियो बनाउनुपर्छ,’ संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत इरावानीले भने, ‘साथमा इरान आफ्नो जवाफी कारबाहीले गाजामा हुन सक्ने सम्भावित युद्धविरामलाई नकारात्मक प्रभाव नपारोस् भनेर सचेत हुनुपर्छ ।’ तर, यो कार्यान्वयन गर्न असम्भवप्रायः सन्तुलन हो । 

‘जिअनिस्ट संस्था (इजरायल)ले संयुक्त राष्ट्र संघमा इरानविरुद्ध आणविक धम्की दिएर आणविक कार्यक्रममा अस्पष्ट रहने नीतिबाट पछि हट्ने स्पष्ट संकेत गरेको छ । पछि तिनले आणविक केन्द्रलाई निसाना बनाउन पनि सक्छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले भने, ‘इरानले आफ्नो सार्वभौमसत्ता कायम राख्न आवश्यक छ, यसैले देशभित्र आणविक सिद्धान्तलाई परिमार्जन गर्ने विषयमा छलफल चलिरहेको छ । यदि इजरायलसँग रहेको आणविक हतियार हटाइएन भने मध्यपूर्वमा आणविक हतियार राख्ने प्रतिस्पर्धा सुरु हुनेछ । त्यसपछि इरानले आफ्नो रणनीतिको पूर्ण पुनः मूल्यांकन गर्नेछ ।’

इरानका छिमेकीले पनि उनीहरूको हतियार खरिद र तिनका भूमिमा रहेको अमेरिकी सैन्य आधारको उपस्थितिले उत्पन्न गरेको खतराबारे आफूहरूलाई आश्वस्त पार्नुपर्ने इरानको तर्क छ । अन्ततः इरानका सर्वोच्च नेताले आफूसँग रहेका विकल्पमा हिसाबकिताब गरिरहँदा उनका हरेक सम्भावित कदम अनिश्चितताले भरिएका हुनेछन् । तेहरानले दशकौँयताकै सबैभन्दा महŒवपूर्ण निर्णयको सामना गरिरहेका वेला विश्वको नजर ऊमाथि छ ।

– अल जजिराबाट