१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ८ शनिबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ८ शनिबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती नदी जोगाउन सबै लागौँः उपप्रधानमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ८ शनिबार १८:५६:oo

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन्।

ललितपुरमा शनिबार नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त रूपमा आयोजना गरेको महा जलजात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहरीकरण तीव्र रूपमा बढेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा यसको दीर्घकालीन असर समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने उल्लेख गरे।

उनले भने, ‘बागमती नदी वर्षातको समयमा बगे पनि सुक्खा समयमा निकै दुर्गन्धित हुने हुँदा यस्तो समस्याको समाधन गर्ने प्रयास सरकारको तर्फबाट भइरहेको छ।’

बागमती नदी सफा राख्न र बागमती जोगाउन विभिन्न समाजसेवी तथा अभियन्ता सधैँ सक्रिय रूपमा लागेकामा उपप्रधानमन्त्री सिंहले खुसी व्यक्त गरे। उनले भने, ‘बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग सहरी विकास मन्त्रालय सहकार्य गर्न चाहन्छ।’

उपप्रधानमन्त्री सिंहले बागमती नदीको दुर्गन्धले कति असर गर्छ भन्ने आफूले पनि महसुस गरेको कारण लामो सभ्यता बोकेको बागमती नदीलाई दुर्गन्धरहित र हरियाली बनाउन सरकारले प्रयास गरिरहेको बताए।

उनले भने, ‘तीव्र सहरीकरणको कारण वर्षौँदेखि दुर्घन्धित अवस्थामा रहेको बागमती नदीको समस्या तत्काल समाधान नभए पनि समस्या समाधानका लागि सरकार लागिपरेको छ।’

ललितपुरको बागमती नदी करिडोरमा आयोजित बागमती नदी महोत्सव (२१ औँ शताब्दीको महोत्सव) महाजल जात्रा २४औँ संस्करणमा मैत्री जल विहार, बागमती सभ्यता संवादलगायत कार्यक्रम आयोजना गरिएका छन्।