
बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन्। शुक्रबार एक औपचारिक कार्यक्रमबीच प्रदेश प्रमुख देवकोटाले पदधार ग्रहण गरेका हुन् ।
१४ साउनमा बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माको ठाउँमा देवकोटालाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार नै राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए भने बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख बनेका छन्।
देवकोटाको पदभार समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
यसैबीच निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार नै बिदाइ गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले शर्मालाई माला र खादा लगाएर बिदाइ गरेका हुन् ।