विद्यार्थी लिन हिँडेको बस दुर्घटना हुँदा पोखरामा एकजनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् ।
पोखरा महानगरपालिका– २१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा– २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोलानजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग.१ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा सवार सहयोगी एकजना महिलाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् । घाइतेमध्ये जिएमसी अस्पतालमा १४ जना, गण्डकी अस्पतालमा १२ जना र मणिपाल शिक्षण अस्पतालमा तीजनाको उपचार भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
घुम्ती पार गर्ने क्रममा बस सडकदेखि करिब ६० मिटर तल खसेको थियो । बसको ब्रेक फेल भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।