१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
२o८१ श्रावण १२ शनिबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छात्रवृत्ति परीक्षामा सहभागी पाँच नक्कली परीक्षार्थी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १७:o५:oo

हेटौँडामा सञ्चालित निःशुल्क छात्रवृत्ति परीक्षामा सहभागी भएका पाँचजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

सानोठिमी भक्तपुरद्वारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति परीक्षामा सहभागी ती नक्कली परीक्षार्थी पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले शनिबार हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविबाट चारजना र हेटौँडा उपमहानगरपालिका– २ मा रहेको सिद्धार्थ माविबाट एकजना पक्राउ परेको जानकारी दिए।

प्रहरी उपरीक्षक रिजालका अनुसार सिद्धार्थ मावि परीक्षा केन्द्रबाट धनुषा उपमहानगरपालिका– १२ का २० वर्षीय रमेश यादव पक्राउ परेका छन्। उनलाई बारा पचरौता गाउँपालिका–५ का राकेशकुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो।

यस्तै, भुटनदेवी मावि परीक्षा केन्द्रबाट बाराको परवानीपुर नगरपालिका– २ बस्ने २० वर्षका नरेन्द्र महतोलाई रौतहट घर भएका १९ वर्षका असाब आलमको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको हो।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका– ८ का १५ वर्षका (नाबालक) रूपेश यादवले सोही स्थानका १८ वर्षका निमेशराय यादवको परीक्षा दिइरहेको र सर्लाहीको विष्णु गाउँपालिका– ७ का १८ वर्षका राजीवकुमार राउतले सिराहाका १८ वर्षका ललनकुमार यादवको परीक्षा दिएको अवस्थामा पक्राउ गरिएको छ।

प्रहरी उपरीक्षक रिजालका अनुसार भुटनदेवी परीक्षा केन्द्रबाटै रौतहटको गरुडा नगरपालिका– २ का १८ वर्षका लालबाबु सहनीलाई पक्राउ गरिएको छ। उनले सर्लाहीका १८ वर्षका सुनील महतोको परीक्षा दिइरहेका थिए।

मकवानपुर प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रिजालका अनुसार अर्काको नाममा परीक्षा दिनेहरू अधिकांश तराई मधेशका छन्। उनले पक्राउ परेका नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।