१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दिपेश पछाई
२०७५ पौष १३ शुक्रबार ०६:०५:००
Read Time : > 1 मिनेट
अर्थ

नवलपरासीमा खुल्यो २ अर्ब लगानीको कंक्रिट उद्योग

दोस्रो चरणमा थप २ अर्ब लगानी गर्छौं : सञ्चालक

Read Time : > 1 मिनेट
दिपेश पछाई
२०७५ पौष १३ शुक्रबार ०६:०५:००

नवलपरासीको हकुईमा एसियाकै ठूलो कंक्रिट उद्योग सञ्चालनमा आएको छ । २ अर्ब लगानीमा एसियन कंक्रिटो प्रालिले जर्मन प्रविधिमा व्यावसायिक उत्पादन सुरू गरेको उद्योगका सञ्चालक मनीष रुंगटाले बताए ।

उद्योगमा रुंगटाका साथै राजेश अग्रवाल, मनोज केडिया, अनिल जाटिया र गौरव अग्रवालको लगानी छ । उद्योगले बालुवा, गिट्टी र सिमेन्ट प्रयोग गरी पेभर्स, ब्लक, इँटा, कर्वस्टोन, होलोब्लकलगायत सामग्री उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता विस्तारका लागि २ अर्ब रुपैयाँ लगानी थप गर्ने सञ्चालकको भनाइ छ । 

जर्मन प्रविधिमा गुणस्तरीय उत्पादन
उद्योगमा प्रयोग गरिने कच्चा पदार्थको जर्मनीबाटै गुणस्तर मापन गरिने सञ्चालकको दाबी छ । १५० मेट्रिक टनको प्रेसरले च्यापेर बनाउने हुँदा १५० टनको गाडीसमेत सहजै गुड्न सक्ने सञ्चालक जाटियाले बताए । उद्योगमा जर्मनीको मासा कम्पनीको प्लान्ट रहेको सञ्चालकको भनाइ छ । 

देश विकासमा उद्योग मार्गदर्शक 
देशमा निर्माण भइरहेका विभिन्न आयोजना निर्धारित समयमा सक्न र गुणस्तर कायम गर्न कम्पनीले सहयोग गर्ने सञ्चालक राजेश अग्रवालले बताए । ‘यसले देशको विकासमा सहयोग पु¥याउने मात्र नभई गुणस्तरीय काममा समेत सहयोग पुग्छ,’ अग्रवालले भने, ‘एक दिनमा तिन किलोमिटर पक्की सडक बनाउन सक्ने क्षमता उद्योगसँग छ ।’

एसियाकै ठूलो उद्योग भएको दाबी 
ब्लक उत्पादन कम्पनी एसियन कंक्रिटो एसियाकै सबैभन्दा ठूलो कम्पनी भएको सञ्चालकको दाबी छ । निर्यातको सम्भावना हुँदाहुँदै पनि भारत सरकारले ब्लकलाई मार्बल र ग्रिनेटको सूचीमा राखेकाले निर्यातमा समस्या देखिएको सञ्चालकले गुनासो गरे ।

सरकारको सहयोग भए निर्यात गर्न सकिन्छ

यो उद्योगको बजार नेपालका साथै भारतीय बजारमा समेत छ । भारतको उत्तर प्रदेशको बजार लिन सकिन्छ । ‘हामीलाई सरकारको सहयोग चाहिन्छ,’ उद्योगका सञ्चालक मनोज केडियाले भने । ‘भारतले मार्बल, ग्रिनाइट जस्ता वस्तुसरह कंक्रिटमा पनि भन्सार लिने गरेको छ,’ उनले भने, ‘सरकारी पक्षबाट भन्सार शुल्क हटाउन पहल भए व्यापार घाटा कम
गर्न सकिन्छ ।’

हाल नेपालका मुख्य सहरका साथै भारतका विभिन्न स्थानमा समेत माग रहेकाले निर्यातमा पहल गरिदिनसमेत उनले सरकारसमक्ष माग गरे । सरकारले निर्यातको वातावरण बनाए बंगलादेश र भुटानमा समेत निर्यात गर्न सञ्चालकहरूको भनाइ छ ।