मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ९ आइतबार
  • Thursday, 26 December, 2024
एलिएन पियर्सन
२o८१ असार ९ आइतबार १o:११:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँ अधिनायकवादी शासकबाट सचेत रहौँ 

Read Time : > 2 मिनेट
एलिएन पियर्सन
नयाँ पत्रिका
२o८१ असार ९ आइतबार १o:११:oo

राष्ट्रपतिमा तो लामको नियुक्तिका कारण भियतनामलाई आकर्षक बजार र चीनको विकल्पका रूपमा प्रस्तुत गर्नेहरू अब सावधान हुनुपर्छ

भियतनाममा विगत केही महिनामा भएको दुर्लभ आन्तरिक शक्ति संघर्षको परिणाम भ्रष्टाचार आरोप लागेका धेरै प्रमुख नेतालाई हटाइयो र नयाँ राष्ट्रपतिका रूपमा पूर्वपुलिस जनरल तो लामलाई नियुक्त गरियो । यससँगै भियतनामलाई आकर्षक बजार र चीनको विकल्पका रूपमा प्रस्तुत गर्ने लोकतान्त्रिक सरकार अब सावधान हुनुपर्छ । आशावादी संकेतको सट्टा लामको सत्तारोहण भियतनाम सरकारको बढ्दो चर्को दमन, आलोचनाप्रति पूर्ण असहिष्णुता र आधारभूत नागरिक एवं राजनीतिक अधिकारप्रतिको पूर्ण शत्रुतापूर्ण संकेत हो । 

अप्रिल २०१६ मा भियतनामको विवादास्पद सार्वजनिक सुरक्षा मन्त्रालयको नेतृत्व ग्रहण गरेदेखि लाम आफ्नो भूमिकाका लागि कुख्यात छन् । नोभेम्बर २०२१ मा भियतनामे कोभिड़–१९ को लकडाउनमा संघर्षरत थियो । त्यसवेला सेलिब्रेटी सेफ ‘साल्ट बे’ले लन्डनमा सुनको परतले ढाकिएको दुई हजार डलर मूल्यबराबरका स्टिक (मांसाहारी पकवान) खाइरहेको भिडियो सार्वजनिक भएको थियो । परिस्थिति तब बिग्रियो, जब ग्लासगोमा संयुक्त राष्ट्र संघको कोप–२६ जलवायु शिखर सम्मेलनमा आधिकारिक प्रतिनिधिमण्डलको नेतृत्व गरिरहँदा पनि लाम कार्बनको सघन उत्सर्जन हुनुपर्छ भन्नेहरूको भोजमा संलग्न थिए । केही समय नबित्दै सामाजिक सञ्जालमा सुरक्षामन्त्रीको भव्य भोजनको व्यंग्य गर्ने अधिकारकर्मी बुई तुआन लामलाई साढे पाँच वर्षको जेल सजाय सुनाइयो । सन् २०२१ मा भियतनामको प्रतिव्यक्ति आय तीन हजार सात सय ५६ डलर मात्र हुँदा दुई हजार डलरको स्टिक उपभोग गर्नु लामका कार्यमध्येको सबैभन्दा कम समस्याग्रस्त पक्ष हो ।

६६ वर्षीय लाम सन् १९७९ मा सार्वजनिक सुरक्षा मन्त्रालयमा भर्ती भएका थिए । उनी सन् २०१६ को अप्रिलमा मन्त्रीमा बढुवा भए । र, उनको निगरानीमा मन्त्रालयले भियतनामको नागरिक समाजमाथिको दमनलाई निरन्तरता दियो । यी दमनको सूची निकै लामो छ । लामले सार्वजनिक सुरक्षाको प्रमुखका रूपमा पदभार ग्रहण गरेको केही दिनमै भियतनामले आफ्नो इतिहासमा सबैभन्दा खराब वातावरणीय प्रकोपको अनुभव गर्‍यो, जब विषको फैलावटले स्थानीय माछा मार्ने समुदायलाई ध्वस्त पार्‍यो । लामले पीडितका तर्फबाट विरोध प्रदर्शन गर्ने कार्यकर्तालाई धम्की दिन, आक्रमण गर्न, गिरफ्तार गर्न र जेलमा राख्न ठूलो प्रहरी दमन गरे ।

मे २०१६ मा लाम मन्त्री बनेको एक महिनापछि उनीमातहत कार्यरत सुरक्षा बलले हनोईको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्न सामाजिक अभियन्तालाई रोके । दुई वर्षपछि सन् २०१८ मा लामका सुरक्षा बलले साइबर सुरक्षामा अत्यधिक समस्याग्रस्त कानुन निर्माण गर्‍यो, जसले अभिव्यक्ति स्वतन्त्रतालाई चपेटामा पार्‍यो र त्यसपछि कानुनको विरोध गर्ने प्रदर्शनकारीमाथि निर्मम दमन गरियो ।

लामको नेतृत्वमा रहेका सुरक्षा बलले भियतनामको सीमाबाहिर पनि दमन गरेका छन्, जसमा पार्टीका पूर्वपदाधिकारी ट्रिन्ह जुआन थान्हलाई जुलाई २०१७ मा बर्लिनबाट र जनवरी २०१९ मा बैंककबाट ब्लगर ट्रुङ डुई न्हाटलाई अपहरण गरिएको थियो । तत्पश्चात दुवैलाई लामो जेल सजाय सुनाइयो । अर्का ब्लगर डुओङ भान थाईलाई अप्रिल २०२३ मा बैंककबाट अपहरण गरियो । उनी अझै हिरासतमै छन् ।

जलवायु चासोका मामिलामा लामको स्पष्ट घृणा उनको प्रदर्शनात्मक स्टिक स्टेक सेवनभन्दा निकै बढी छ । सन् २०२२ र २०२३ मा सुरक्षा बलले धेरै प्रख्यात पर्यावरण अभियन्तालाई झुटो आरोपमा गिरफ्तार गर्‍यो । जसमा दुईजना दाङ दिन्ह वाच र होआङ थी मिन्ह होङ अहिले जेल सजाय भोगिरहेका छन् र अर्का एनगो थी तो न्हिएन प्रहरी हिरासतमा छन् । वो एन डन, दाङ डिन्ह म्यान र न्गुएन भान मिङजस्ता वकिल जसले मानवअधिकार अभियन्ताका पक्षमा वकालत गर्ने हिम्मत गरे, तिनले देश छाडेर निर्वासनमा जानुपर्‍यो । प्रहरीको धम्की र उत्पीडनबाट वकिल चुपचाप बस्न बाध्य छन् ।

लामको नेतृत्वमा भियतनामको शक्तिशाली सुरक्षा एजेन्सीले देशको नवजात मानवअधिकार आन्दोलनलाई लगभग मेटाएको छ । यसका एजेन्टले ब्रदरहुड फर डेमोक्रेसी, भियतनाम नेसनल सेल्फ–डिटरमिनेसन कोलिसन, इन्डिपेन्डेन्ट जर्नलिस्ट एसोसिएसन अफ भियतनाम र लिबरल पब्लिसिङ हाउसका सदस्यलगायत देशमा लोकतन्त्र र मानवअधिकार प्रवद्र्धन गर्न प्रयास गर्ने लगभग सबैलाई गिरफ्तार गरेका छन् । प्रहरीले भियतनामको कम्युनिस्ट पार्टीलाई ‘लोकतन्त्र’ (डिमोक्रेसी), ‘आत्म–निर्णय’ (सेल्फ–डिटरमिनेसन), ‘स्वतन्त्र’ (इन्डिपेन्डेन्ट), ‘उदारवादी’ (लिबरल) जस्ता मन नपर्ने शब्द समावेश गर्ने सबै समूहलाई तारो बनाएको देखिन्छ । 

एजेन्सीले सरकारी नीतिको आलोचना गर्न साहस गर्ने लगभग सबै प्रभावशाली मानवअधिकार अभियन्ता र प्रमुख पत्रकारलाई पनि पक्राउ गरेको छ । गत फेब्रुअरीमा एक पूर्वराजनीतिक कैदी न्गुएन भु बिनले भियतनामको ‘लोकतान्त्रिक आन्दोलन एक कठिन र उदास अवधिमा छ’ भनेर टिप्पणी गरेको एक सातापछि उनी पनि पक्राउ परे । भियतनामका एक सय ६४ राजनीतिक बन्दीमध्ये एक सय ४७ केवल आफ्नो आधारभूत नागरिक एवं राजनीतिक अधिकार प्रयोग गरेका कारण जेलमा छन् । र, यी एक सय ४७ बन्दीलाई लामको निगरानीमा दोषी ठहराइयो र सजाय सुनाइयो ।

अब राज्य प्रमुखका रूपमा लाम औपचारिक आलंकारिक अवसर र कूटनीतिक वार्तामा धेरै अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डलसँग संलग्न हुनेछन् । जब कूटनीतिज्ञले लामसँग हात मिलाउनेछन्, तब तिनले लामको सत्ताको उदयपछाडिको विनाशलाई बिर्सिनुहुँदैन । उनले भियतनाममा मानवअधिकारमा पुर्‍याएको क्षतिलाई पनि कूटनीतिज्ञले सम्झनुपर्नेछ ।

(पियर्सन ह्युमन राइट्स वाचकी एसिया निर्देशक हुन्)  अल जजिराबाट