अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीले काभ्रेमा तत्कालीन माओवादी कमान्डर तीर्थ बम्जनको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको छ।
बम्जनको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा सीता भुजेल, सचिवमा पासाङ तामाङ र सहसचिवमा विकेश लामा चयन भएका छन्। कोषाध्यक्षसहित केही सदस्यहरू पछि मनोनीत हुने बताइएको छ।
पूर्वमन्त्रीसमेत रहेकी जसपाकी सहअध्यक्ष रेणु यादवको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच पार्टीको ‘जिल्ला भेला तथा पुर्नगठन’ कार्यक्रम सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै सहअध्यक्ष यादवले तत्कालीन पार्टीका अध्यक्ष उपेन्द्र यादवको मनोमानी र स्वेच्छाचारी व्यवहारले गर्दा पार्टी फुटेको जिकिर गरिन्। ‘उपेन्द्रजीको जालझेल, मनोमानी र स्वेच्छाचारी व्यवहारले गर्दा पार्टी फुट्न पुग्यो,’ उनले भनिन्, ‘छलफलमा नबोल्ने निर्णय एकलौटी गरेका कारण हामी एकैठाउँमा रहन सकेनौँ।’