
प्रदेश सरकार र प्रतिपक्षी दलबीच पाँचबुँदे सहमति भएपछि बागमती प्रदेश सभाको अवरोध हटेको छ। शुक्रबार दिउँसो सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच पाँचबुँदे सहमति भएको हो।
सत्तारूढ दल र प्रतिपक्षी दलहरूबीच प्रतिपक्षले उठान गरेको सवालमा आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट छलफलका लागि टेबुल गर्नुअघि वक्तव्यमार्फत पेनड्राइभमा भएको विवरण प्राविधिक त्रुटि भएको र सच्याएर किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने, प्राविधिक, कानुनी, कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने सहमति भएको छ।
यस्तै, प्रतिपक्ष दलहरूले माग गरेबमोजिम कार्यक्रम विवरणमा समावेश भएको कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्ने र थप रकम रकमान्तर गरी सुनिश्चितताका लागि आजै मन्त्रीस्तरीय निर्णय गरी प्रतिपक्ष दलहरूलाई आश्वस्त पार्ने, विषयगत मन्त्रालयमा रहेको अबन्डामा रहेको रकम प्रतिपक्ष दलहरूले प्रस्ताव गरेबमोजिमको प्रकृति मिल्ने खालको शीर्षकमा बजेट व्यवस्था गर्ने र सहमतिबमोजिम सदन सञ्चालन गर्ने सहमति भएको छ।
सहमतिपत्रमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल, अर्थमन्त्री जगन्नाथ थपलिया, एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद खनाल शर्मा, प्रतिपक्ष दलका तर्फबाट बहादुरसिंह लामा र उद्धव थापाले हस्ताक्षर गरेका छन्।
सहमति भएसँगै प्रदेश सभाको बैठक सुरु भएको छ। यसअघि बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रतिपक्षी दलहरू कांग्रेस र राप्रपाले प्रदेश सभा बैठकमा विरोध जनाएपछि बैठक प्रभावित हुँदै आएको थियो।