
नेपाल प्रहरीले चार केजी ५०४ ग्राम लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विभिन्न मितिमा विभिन्न देशका नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो।
करिब १५ करोड ७६ लाख रुपैयाँ अवैध बजार मूल्यबराबरको कोकिनसहित भारत, तान्जानिया, बोलिभिया र भेनेजुयलाका नागरिक पक्राउ परेका ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार गत जेठ २७ गते फ्लाई दुबईको जहाजबाट नेपाल आएका तान्जानियाका नागरिक ६८ वर्षीय डोनाल्ड ज्याकसन माबुगा ठमेलस्थित एक होटेलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ परेका थिए। इथियोपियाको राजधानी एडिस अबाबामा प्लास्टिक कोटेड कोकिनका क्याप्सुल निलेर उनी काठमाडौं आएका खुलेको छ। उनको बयानका आधारमा अस्पताल लगी पेटबाट निकालिएको कोकिनका ७७ क्याप्सुलसहित कुल एक केजी २०६ ग्राम कोकिन बरामद भएको कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, गत जेठ ३० गते दुई केजी १०० ग्राम कोकिनसहित ३३ वर्षकी बोलिभियन नागरिक लोरा क्रुज टिकोना त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ परेकी थिइन् । इमिरेट्सको विमानबाट ब्राजिल हुँदै काठमाडौं आएकी उनलाई विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्दा झोलाभित्रको फेन्सी लुगाको बटनभित्र लुकाई ल्याएको सो परिमाणको कोकिन बरामद भएको हो।
प्रवक्ता कार्कीका अनुसार एक केजी १९८ ग्राम (९२ क्याप्सुल) कोकिनसहित असार १ गते भेनेजुयलाका नागरिक ३९ वर्षीय साइमन एन्टोनियो एल्फोन्जो रादा पक्राउ परेका छन्। कतार एअरबाट काठमाडौं आएका उनी काठमाडौंको एक होटेलबाट पक्राउ परेका बताइएको छ। उनी पनि कोकिनको क्याप्सुल निलेर ब्राजिलको साओ पाउलोबाट काठमाडौं आएको खुलेको प्रहरीले जनाएको छ।
उनले ती क्याप्सुल एक भारतीय नागरिकलाई डेलिभरी गर्ने गरेका थिए। कोकिन डेलिभरी लिने क्रममा असार ४ गते सोही स्थानबाट २७ वर्षकी भारतीय नागरिक लालरुआतसांगीसमेत पक्राउ परेको ब्युरोले जनाएको छ। मिजोरमकी ती महिलाले काठमाडौंबाट नयाँदिल्लीसम्म कोकिन लैजाने गरेको अनुसन्धानबाट खुलेको छ।