१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ४ मंगलबार १८:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षामन्त्री श्रेष्ठका सय दिन : केके छन् उपलब्धि?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १८:१४:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कार्यभार सम्हालेपछिको सयदिने प्रगति विवरण सार्वजनिक गरेकी छिन्। मंगलबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले सयदिने उपलब्धि सार्वजनिक गरेकी हुन्।

सय दिनमा आफूले नीतिगत पहल र निर्णयमा जोड दिएर काम गरेको मन्त्री श्रेष्ठले सुनाइन्। यस अवधिमा आफ्नै पहल र दबाबका कारण ८२५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको मन्त्री श्रेष्ठको दाबी छ।

राजनीतिक दलमा आबद्ध रहेका शिक्षकहरूलाई सदस्यता त्याग्नका लागि मन्त्रालयले तीन महिनाअघि निर्देशन जारी गरेको थियो। साथै, राजनीतिक दलमा लागेको शिक्षकको उजुरी टिपाउन अनुरोध गरेको थियो।

त्यसयता ४५ शिक्षकको उजुरी परेको थियो। उजुरीका आधारमा ४१ जनालाई स्पष्टीकरण सोधिएको र चारजनाले सफाइ पाएका थिए। अन्य ४१ शिक्षकलाई स्पष्टीकरण सोधी राजनीतिक सदस्यता त्याग्न अनुरोध गरिएको थियो। 

यसैगरी, मन्त्रालयले निर्वाचन आयोगसँगको समन्वय र सहकार्यमा राजनीतिक दलको सदस्यता लिएका अन्य शिक्षकहरूलाई सदस्यता त्याग गर्न लगाएको थियो। यसबाहेक राजनीतिमा लागेका २० शिक्षकले शिक्षण पेसाबाट नै राजीनामा दिएकाे मन्त्री श्रेष्ठले बताइन्।

त्यस्तै, सोलार ठेक्कामाथि अनियमितता भएको गुनासो आएपछि छानबिन समिति गठन गरेको उनको भनाइ छ। अस्थायी सिकाइ केन्द्रको स्थापना गर्ने योजना, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको व्यवस्थापन, नियमावली संशोधनको प्रस्ताव, शिक्षक सरुवा कार्यविधि पारित, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक र छलफल गरिएको मन्त्री श्रेष्ठले बताइन्।

यसैगरी, क्याम्पसमा गुनासो व्यवस्थापन संयन्त्र स्थापना, क्याम्पसको जग्गा अतिक्रमणबारे छानबिन समिति गठन, चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ सार्वजनिक, कन्सल्टेन्सीहरूको नवीकरण, समन्वय र अनुगमनको व्यवस्था, कन्सल्टेन्सीको अनुगमन प्रतिवेदन तयार, त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८० जारी, पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएको छ।

कक्षा ५ देखि १० सम्मका विद्यार्थीको लागि सिकाइ सामग्री निर्माण, विज्ञान साक्षरतासम्बन्धी इ-पुस्तिका निर्माण, नवप्रवर्तन कार्यक्रम सञ्चालन गर्ने समझदारी, विद्यालय सुधारको आवश्यक पहल, प्रशिक्षार्थीसम्बन्धी कार्यविधि २०८० जारी, आन्तरिक कर्मचारी सरुवा मापदण्ड ०८० निर्माणलगायत कार्य प्रगति भएको मन्त्री श्रेष्ठले जानकारी दिइन्।