मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 05 February, 2025
२o८१ असार ४ मंगलबार o७:२o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बाँकी संघको निर्वाचन चाँडै : राखेप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o७:२o:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेको राष्ट्रिय खेल संघको निर्वाचन गराउनेतर्फ अग्रसर भएको बताएका छन् । एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि दशरथ रंगशालामा सुरु भएको तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटनमा राखेपका सदस्यसचिव घिसिङले निर्वाचन नभएका संघहरूलाई निश्चित समयभित्र गराउने प्रयास भइरहेको जनाए ।

‘म परिषद्मा आउँदा दुई सयभन्दा बढीको हाराहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो । अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ,’ उनले भने, ‘अहिले ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । त्यसमध्ये एथलेटिक्स संघ पनि पर्छ ।’

उनले एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुने बताए ।‘सामान्तय परिषद्ले कुनै पनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन । मैले संघहरूलाई व्यवस्थित बनाउन ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नुभएन,’ उनले भने, ‘एउटा विधिमा हिँडाउनका निमित्त मात्र कोसिस गराएको हुँ । त्यो एउटा सत्प्रयासबीचमा ४३ वटा संघको निर्वाचन हुँदो रहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइछाड्नेछु ।’

शिवराज र निशालाई स्वर्ण

एपिएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । शिवराज पुरुष र निशा महिलामा पहिलो भएका हुन् । शिवले निर्धारित दूरी ११.० सेकेन्डमा पूरा गरे । हाइजम्पको पुरुषमा आर्मीका सूर्यबहादुर खत्री  (१.७० मिटर) र महिलामा विन्दु थनेत (१.३८ मिटर)का साथ पहिलो भए । १० हजार मिटर दौडको पुरुषमा आर्मीका सञ्जय श्रेष्ठ (३२ मिनेट ०९.१ सेकेन्ड) र महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (४० मिनेट ४३.१ सेकेन्ड)का साथ पहिलो स्थानमा रहे ।

त्रिपलजम्पको पुरुषमा आर्मीका डिल्ली खत्री (१३.८५ मिटर) र महिलामा प्रहरीकी सीमाकुमारी चौधरी (११.०० मिटर)ले पूरा गरे । भेट्रान पुरुषको पाँच हजार मिटर दौडमा रेवनबहादुर दाहाल तथा महिलाको तीन हजार मिटर दौडमा काठमाडौंकी शर्मिला बस्नेत पहिलो बने । प्रतियोगितामा ५२ स्पर्धा समावेश प्रतियोगितामा पाँच सय ७५ खेलाडीको सहभागिता रहेको आयोजकका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।