१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Wednesday, 26 June, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ ३१ बिहीबार o६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बंगलादेशबाट पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी

झन्डै ३० अर्ब लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस ०७९ बाट सञ्चालनमा आए पनि अहिलेसम्म एउटै नियमित उडान हुन सकेको छैन 

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार o६:३९:oo

डेढ वर्षअघि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको निजी वायुसेवा कम्पनी ‘एयर एस्ट्रा’ले सीधा उडानको तयारी थालेको छ । एयर एस्ट्राले ढाका–पोखरा नियमित उडानको लागि इच्छा देखाएर प्रक्रिया अगाडि बढाएको हो । पोखरामा उडान सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एयर एस्ट्राले निरन्तर सम्पर्क गरिरहेको नागरिक उड्डयन महाशाखाकी सहसचिव इन्दु घिमिरेले बताइन् । 

नेपालको पर्यटकीय राजधानी पोखरामा १७ पुस ०७९ बाट सञ्चालनमा आएको विमानस्थलमा अहिलेसम्म एउटै नियमित उडान हुन सकेको छैन । झन्डै ३० अर्ब लगानीमा निर्माण गरिएको विमानस्थलमा नियमित उडान नहुँदा चौतर्फी आलोचना भइरहेको छ । 

स्रोतका अनुसार एयर एस्ट्राले नेपालका लागि जिएसएमा सोसाइटी इन्टरनेसनल ट्राभललाई नियुक्त गरिसकेको छ । ढाका–पोखरा उडान प्रक्रिया अगाडि बढाउन एयर एस्ट्राको टोली मन्त्रालयमा धेरैपटक धाइसकेको छ । ढाकाबाट पोखरामा अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि एयर एस्ट्राको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) कम्पनीका प्रनितिधिले निरन्तर ताकेता गरिरहेको मन्त्रालयले जनाएको छ । ‘म हवाई महाशाखामा सरुवा भएर आएको एक महिनामै उहाँहरू तीनपटक सम्पर्कमा आइसक्नुभयो, जसबाट उहाँहरूको पोखरा उडानप्रतिको प्रतिबद्धता झल्किन्छ,’ सहसचिव घिमिरेले भनिन्, ‘एयर एस्ट्राले ढाका–पोखरा डाइरेक्ट फ्लाइट गर्न अत्यन्तै इच्छुक देखिन्छ ।’ त्यसो त एयर एस्ट्रा ढाका–काठमाडौं–ढाका रुटमा पनि उडान गर्न इच्छुक रहेको बताइन्छ ।

ढाका–काठमाडौं र ढाका–पोखरा उडानका लागि प्रस्ताव गरिसकेको एयर एस्ट्राका डेपुटी म्यानेजर साकिब हसान सुभोले बंगलादेशको मिडियालाई बताएका छन् । उनले विमान अवतरण शुल्क, इन्धन कर, पार्किङ शुल्कलगायतमा छुटका लागि अनुरोध गरेको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि नै क्यानले अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत शुल्कमा पूरै छुट दिएको छ । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिएको छ । यो छुट सुविधा आगामी जनवरी २०२५ सम्म कायम रहनेछ ।

पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर एस्ट्राको पोखरा उडानको प्रस्तावलाई अवसरका रूपमा लिएको छ । पर्यटनसचिव डा. गणेशप्रसाद पाण्डेयले मातहतका अधिकारीहरूलाई एयर एस्ट्रासँग राम्रोसँग डिल गर्न निर्देशन दिएको स्रोतको भनाइ छ । ‘पहिला दुई पक्षबीच नेगोसिएसन हुन्छ, उहाँहरूका पनि आफ्नै माग हुन्छन्,’ सहसचिव घिमिरेले भनिन्, ‘नेगोसिएसन फाइनल भएपछि उडान अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणमा पठाइनेछ, अहिलेको छलफल प्रारम्भिक चरणमै छ ।’ 

एयर एस्ट्राले उडान सुरु गरेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा बन्नेछ । 
साथै, एयर एस्ट्राको पनि पहिलो अन्तर्राष्ट्रिय उडान सेवा हुनेछ । अहिले एयर एस्ट्राले बंगलादेशमा एटिआर ७२–६०० विमानमार्फत आन्तरिक उडान सेवा दिँदै आएको छ ।

अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, नेपालकै हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमानले अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आइरहेको ड्रुक एयरले पोखरा र भैरहवामा पनि सीधा उडानका लागि अनुमति मागेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न बुद्ध एयर, हिमालय एयर, जजिरा एयरवेज, बिज एयरलगायत चासो देखाउँदै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले नेपाल र बंगलादेशलाई विमान बंगलादेश र हिमालय एयरलाइन्सले सीधा उडानमार्फत जोडिरहेका छन् । यसअघि युएस बंगला एयरलाइन्सले काठमाडौं उडान गरे पनि अहिले सेवा बन्द छ । 
 

ad
ad
ad
ad