पे–वेलबाट करिब ७० अर्ब र सजिलो पेमार्पmत करिब २४ अर्बबराबर अवैध कारोबार भएको सिआइबीको निष्कर्ष, सुन तस्करीको भुक्तानीमा संलग्न सञ्चालक र कर्मचारी पक्राउ
दुई भुक्तानी सेवा प्रदायक कम्पनी (डिजिटल मोबाइल वालेट)ले दुई वर्षको अवधिमा एक खर्ब रुपैयाँभन्दा धेरै हुन्डीको कारोबार गरेका छन् । सुन तस्करी गर्ने समूहमाथि अनुसन्धान गर्दा प्रहरीले पे–वेल नेपाल र सजिलो पे कम्पनीले नेपालमा बैंकिङ च्यानल नै प्रयोग गरी संगठित रूपमा हुन्डीको कारोबार चलाएको पत्ता लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ती दुई कम्पनीका सञ्चालक तथा कर्मचारी पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सिआइबीले पे–वेल नेपालका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, प्रमुख कार्यकारी प्रज्वल आचार्य तथा सजिलो पेका सञ्चालक सुनील जाकिबन्जा तथा कार्यकारी प्रमुख कश्यप मानन्धरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
पे–वेलबाट करिब ७० अर्ब र सजिलो पेले करिब २४ अर्बबराबरको अवैध कारोबार गरेको सिआइबी अनुसन्धानमा खुलेको छ । उनीहरूको थप कारोबारमाथि अनुसन्धान भइरहेकाले यो रकम एक खर्बभन्दा धेरै हुने सिआइबी स्रोत बताउँछ । सिआइबीको अनुसन्धानका आधारमा नेपाल राष्ट्र बैंकले यसअघि नै दुई कम्पनीका बैंक खाताहरू रोक्का राखेर थप छानबिन गरिरहेको छ । यी वालेट कम्पनीको कारोबार एक सातादेखि लगभग ठप्प छ ।
ब्रेकसुलगायत सामानभित्र लुकाएर सुन तस्करी गर्ने गिरोहमाथि दोस्रो चरणको अनुसन्धान गर्दा प्रहरीले अवैध भुक्तानीको सञ्जाल खोतलिरहेको छ । जस क्रममा तस्कर समूहले डिजिटल वालेट कम्पनीलाई अवैध सुन किनबेचको रकम स्थानान्तरण र निर्मलीकरणका लागि दुरुपयोग गरेको खुलेको हो ।
सुन तस्करीकै अनुसन्धानको क्रममा भुक्तानी सेवा प्रदायक कम्पनीले उनीहरूलाई सहयोग गरेको खुलेको सिआइबीका निर्देशक श्यामलाल ज्ञवाली बताउँछन् । ‘पे–वेल र सजिलो पेमार्फत सुन तस्करीको अरबौँ भुक्तानी हुन्डीमार्फत कारोबार भएको देखिन्छ,’ उनी भन्छन्, ‘ती दुई कम्पनीले राष्ट्र बैंकको नियम तथा निर्देशनसमेत लत्याएर अवैध कारोबार गर्दै आएको पुष्टि भएपछि केही सञ्चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका छौँ ।’
सुन तस्करीमा पक्राउ परेकाहरूको बयान र उनीहरूको मोबाइलको डिजिटल फरेन्सिक रिपोर्टबाट यी दुई कम्पनीको संलग्नता खुलेको हो । नेपालमा तस्करी भएको सुन बिक्रीको पैसा व्यापारीहरूले ती दुई कम्पनीको बैंक खातामा जम्मा गर्दथे । जुन पैसा अस्ट्रेलिया तथा कोरियाबाट रेमिट्यान्स पठाउने व्यक्तिको आफन्तलाई भुक्तानी हुन्थ्यो । यसरी विदेशको पैसा भने नेपालमा सुन तस्करी गर्ने चिनियाँहरूले उतैबाट हिसाब मिलाएर अरबौँको अवैध कारोबार गर्दै आएका हुन् ।
हुन्डी कारोबारमा कोरियाबाट माइला दाइ भन्ने कृष्णबहादुर खड्का तथा अस्ट्रेलियामा सेन्ड मनी नेपाल नामक डिजिटल वालेट चलाउने व्यक्तिहरूको संलग्नता देखिएको सिआइबी स्रोत बताउँछ ।
सुन तस्करीमा पक्राउ परेका व्यक्तिहरूले ती दुई कम्पनीको खातामा पैसा जम्मा गरेका प्रमाणहरू प्रहरीले फेला पारेको छ । सिआइबीको हिरासतमा रहेका सिद्धनाथ गायकवाड र धीरज दिनेश भोइटेले मात्र ३३ करोड ८६ लाख रुपैयाँ पे–वेल नेपाल प्रालिको विभिन्न खातामा जम्मा गरेका थिए । कर्मचारी मन्दिरा खड्कामार्फत त्यसरी उनीहरूले पैसा जम्मा गराउँदै आएका थिए । गायकवाडको मोबाइलमा पाँच करोड ६९ लाख रुपैयाँबराबरको भौचर भेटिएका छन् ।
त्यस्तै, रूपक भण्डारीले १५ करोड ५४ लाख, उषा निरौलाले तीन करोड, अभिजित टानाजी मुलिकले आफ्नै खाताबाट पे–वेल नेपालको खातामा ३० पटक गरेर दुई करोड ५६ लाख रुपैयाँ पे–वेलको खातामा पठाएका थिए । त्यस्तै, अर्का प्रतिवादी राजु खत्रीको मोबाइलमा एक करोडभन्दा धेरै भुक्तानीका भौचर फेला परेको सिआइबी स्रोत बताउँछ ।
खत्रीले बयानको क्रममा गाम्बा शेर्पा नेपालीले अवैध सुन बिक्री गर्न दिएपछि उक्त सुन बिक्री गरेबापतको रकम युएसडिटी(क्रिप्टो करेन्स) खातामा हाल्न लगाउने र नभएमा पे–वेल नेपालको खातामा हाल्न लगाउने गरेका थिए । सुनको कारोबारमा संलग्न शिवकुमार सर्राफ र राजु खत्रीबीचको ह्वाट्सएप च्याटमा पनि पे–वेल स्लिप भौचर भेटिएको छ ।
सिआइबीले दोस्रो चरणको अनुसन्धानमा राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्तगणेश बजबलकर, सिद्धार्थ गायलवाड, दिनेश भोइटे, बैजनाथ ब्रम्हादत्त गोयललगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसक्रममा अवैध हुन्डी कारोबार गर्ने गिरोह पत्ता लागेको हो । पक्राउ परेका गिरोहउपर संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत वर्ष ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । सिआइबीले विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २८ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको छ । उनीहरूले ब्रेकसुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मिसिनलगायत सामानभित्र लुकाएर सुन तस्करी गरेका हुन् ।
दुवै कम्पनीले कानुन बारम्बार मिचेर कारोबार गर्दै आएको छानबिनमा आबद्ध राष्ट्र बैंकका अधिकारी बताउँछन् । भुक्तानी प्रणाली विभागद्वारा जारी एकीकृत भुक्तानी सम्बन्धी निर्देशन २०७९, परिमार्जित निर्देशिका २०८० र विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्कसम्बन्धी व्यवस्थाको प्रतिकूल हुने गरी कारोबार गर्दै आएका थिए ।
राष्ट्र बैंकको निर्देशनअनुसार कारोबारको अधिकतम सीमा प्रतिदिन खाताबाट वालेटमा दुई लाख, प्रतिमहिना १० लाख तथा एक वालेटबाट अर्काे वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहिना पाँच लाख सीमा निर्धारण गरेको छ । छानबिनको क्रममा एकैजनाले महिनामा २५ लाख रुपैयाँसम्मको कारोबार गर्दै आएका थिए ।
आफ्नो खातामा अवैध रूपमा जम्मा गरेको रकम एजेन्टमार्फत भुक्तानी दिलाएर अवैध रकम स्थानान्तरण गर्दै आएका थिए । साथै, आन्तरिक रेमिट्यान्समा वालेट कम्पनीहरूलाई प्रतिबन्ध रहेकोमा उनीहरूले करोडौँको कारोबार गरेका थिए । धेरै रकम पे–वेल नेपाल प्रालिबाट भएको छ । जसमा सत्येन्द्र श्रेष्ठ, नेपालभूषण चन्द, पाल्साङ लामालगायत सञ्चालक रहेका छन् ।
सजिलो पे पेमेन्ट सर्भिसको अध्यक्षमा सुनील जाकिबन्जा अध्यक्ष तथा फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील जाकिबन्जा सञ्चालक तथा कश्यप मानन्धर कार्यकारी प्रमुख छन् । सुन तस्करी गर्ने गिरोहले ठूलो रकम क्रिप्टोमार्फतसमेत भुक्तानी गरेको पाइएको र त्यसतर्फ छुट्टै अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।