मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 18 December, 2024
डा. राधिका बुढ्थापा
२o८१ जेठ १६ बुधबार २१:३७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

रुस–युक्रेन युद्धमा बगिरहेको सस्तो नेपाली रगत

देशमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीको मूल्य निकै चर्काे रूपमा देश र समाजले व्यहोर्नुपरिरहेको छ

Read Time : > 4 मिनेट
डा. राधिका बुढ्थापा
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २१:३७:oo

नेपाली सञ्चारमाध्यममा नेपाली महिला कोही एक्लै रोइरहेको त कोही काखमा सानो दुधे बालक च्यापेर बिलौना गरिराखेको देखिन्छ । विषय उही पुरानो, विदेशको धन कमाउने यात्रा, तर परिवेश अत्यन्त नयाँ, रुस–युक्रेन युद्धमा नेपाली युवाको सहभागिता हो । कोही धन आर्जन गरेर आउँछु भनेर जानेर वा अन्जानमा रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएको छन् त कोही नेपाली छोराको अत्तोपत्तो नभएको भनेर कसैको शवको त के कुरा अस्तुसम्म कसरी ल्याउने भन्ने पिरलोले विचलित देखिन्छन् । विरह र बिलौनामा डुबेका यी घरपरिवारको अवस्था अत्यन्त नाजुक देखिन्छ । 

कोही आर्थिक बाध्यतामा परी त कोही दलालको फन्दामा परेर रुसी सेनामा भर्ना हुन पुगेकोे र हाल सम्पर्कमा नभएकाले सोधीखोजी गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको खबर पनि व्याप्त छ । देशमा उचित रोजगारीको अवस्था नहुने र घरपरिवारमा जिम्मेवारी थपिँदै गएकाले बिदेसिन बाध्य हुनुपर्ने अवस्था आउनु आफैँमा चिन्ताजनक विषय हो । 

यहाँ प्रसंगमा आएको रुस–युक्रेन युद्ध सन् २०२२ फेब्रुअरी २४ मा सुरु भएको थियो । युद्ध लम्बिँदै गएपछि लडाइँ भइरहेका यी देशमा सेनाको संख्या पूर्तिका लागि भाडाका सस्ता सैनिक जवान भर्ना गराउन मानव तस्करको सञ्जाल विश्वका गरिब देशमा फैलिएको छ । मान्छे बेच्ने दलाललाई हाम्रा युवाको बाध्यता नै पैसा कमाउने ठूलो अवसर बन्न पुग्यो । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा मात्रै एक हजार सात सय ९७ नेपाली युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रुस पुगेको देखिन्छ । अझै थप कतार, साउदी अरेबिया, कुवेत, भारत, बंगलादेश, बहराइन, श्रीलंका आदि देशको बाटो हुँदै पनि रुस पुग्ने नेपाली कैयौँ छन् । 

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन गरिएका हालसम्मका कूटनीतिक प्रयासबाट ठोस प्रगति देखिएको छैन । नेपालले यस विषयमा कडा कदम चाल्न ढिला भैसकेको छ ।

प्रकाशित समाचारअनुसार रुस पुगेपछि मात्र केही दिनको सामान्य छोटो तालिम गराएर रसियन भाषामा लेखेको कागजमा सही गराउने र तुरुन्तै युद्धरत क्षेत्रको अघिल्लो रेखा (फ्रन्ट लाइन) मा पठाउने काम हुँदोे रहेछ । आफना नागरिकलार्ई पछाडि बढी सुरक्षित राखेर विदेशी भाडाका सेनालाई अग्रमोर्चामा लड्न लगाइँदो रहेछ । एक त अपुरो तालिम लिएर अत्याधुनिक हातहतियारसहित अग्रमोर्चामा लड्नुपर्ने र अर्काे त्यहाँको भाषामा आउने आदेश नबुझ्दा उनीहरूले कम्ती सास्ती भोग्नुपरेको छैन होला । 

युद्धको अग्रमोर्चामा भएका कारण पहिलो गोली नेपालीले नै खानु स्वाभाविक भयो । त्यहाँको भाषाको ज्ञान नभएकाले दिएको आदेश नै नबुझेर नै मृत्युवरण गर्नुपर्ने अवस्था भयो । भर्खर जुँगाको रेखी बसेका खाऊँखाऊँ लाऊँलाऊँ भन्ने उमेरका हाम्रा युवा विदेशी भूमिमा कोही बेवारिसे भएर ढलिरहेका छन् भने कोही बम र गोलीबाट छियाछिया भएको शरीरमा तड्पिरहेका छन् । बेरोजगारीले रन्थनिएका युवा रोजगारीका लागि आप्mनो ज्यानको बलि चढाइरहेका छन् । 

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा दुई सय ४५ नेपालीलाई जतिसक्दो छिटो उद्घार गरिदिन अनुरोधसहितको निवेदन दर्ता भएको कुरा सञ्चारमाध्यमबाट बाहिर आएको छ । यही विषम अवस्थाबीच रुसबाट भागेर नेपाल आउन सफल भएकाहरूको पीडित परिवारले हालै काठमाडौंमा प्रदर्शन पनि गरेका थिए । जानी नजानी पराई मुलुकको युद्धको अग्रमोर्चामा पुगेका नेपाली त्यहाँबाट फुत्किन नपाएर छटपटीमा छन् । त्यहाँको वास्तविकता बुझेपछि सबैजना जत्तिसक्दो छिटो आफ्नो देश  फर्कन चाहन्छन् । रुसमा भएको नेपाली दूतावासबाट भरपर्दाे सहयोग नपाएपछि नेपालीको एउटा समूहले आपूmहरूलाई पनि आप्mनो घर फर्काइदिन भारतीय दूतावास गुहार्न पुगेको खबर पनि छ । 

यो सबै अवस्था आउनुकोे मुख्य कारण हाम्रो देशको गरिबी नै हो । देशमा रोजगारीको वातावरण छैन, रोजगारीमूलक शिक्षा छैन । राष्ट्रिय तथ्यांक कार्यालयले हालसालै सार्वजनिक गरेको चौथो जीवनस्तर सर्वेक्षण प्रतिवेदनमा २०.२७ प्रतिशत अर्थात् ५९,११,६५९ नेपाली गरिबीको रेखामुनि  छन् । नेपालको कुल जनसंख्यामध्ये झन्डै ५९ लाख जनता निरपेक्ष गरिबीको रेखामुनि छन् । यस तथ्यांकले के बुझाउँछ भने हरेक पाँचजनामध्ये एकजना नेपाली निरपेक्ष गरिबीको रेखामुनि छन् । यस्तो अवस्थामा हाम्रो देशका युवा–युवती रोजीरोटीको खोजीमा केन्याका डान्सबारदेखि रुस–युेनबीचको घमासान ‘वार’को दिनदिनै सस्तो सिकार भइराखेका  छन् । 

हाम्रो बिडम्बना नेपाल सरकारसँग आप्mना नागरिक कति रुसी सेनामा र कति यक्रेनी सेनामा भर्ती भएका छन्, कुन स्थल वा हवाई माध्यमद्वारा आफ्ना नागरिक त्यहाँ पुगिराखेका छन् भन्नेबारे यकिन जानकारीसमेत छैन । अमेरिकन टेलिभिजन च्यानल (सिएनएन) का अनुसार करिब १५ हजार नेपाली हाल रुसी सेनामा आबद्ध छन् । त्यहाँ पुगिसकेकालाई जसरी पनि फिर्ता ल्याउन र त्यहाँको वास्तविकता ठ्याम्मै नबुझी अन्धाधुन्ध रूपमा युद्धमा होमिन जान चाहनेलाई रोक्नुपर्ने जिम्मेवारी खासगरी सरकारकै हो । रुसी सेनामा नेपाली युवाको विवादास्पद उपस्थितिले हामी सबैको मनमा पीडा उत्पन्न गराए पनि दलालले नेपालीको गरिबीको फाइदा उठाउँदै, ललाइफकाई त्यहाँ पु¥याउने काम गरिराखेकै छन् । त्यसैले बाहिरी संसार हेर्ने र दुई पैसा आर्जन गर्ने हुटहुटीले आक्रान्त हाम्रो युवादस्तामा युद्धग्रस्त क्षेत्रमा अहिले भइराखेको मानव संहारको अवस्था नबुझेरै विभिन्न बाटो हुँदै त्यहाँ पुगिराखेकाले तुरुन्तै स्थानीय निकायमार्फत यसबारे जनचेतनाको कार्यक्रम गाउँगाउँसम्म पुर्यायाउने र सम्भावित दुर्घटनाबारे सर्वसाधारणलाई स्पष्ट पार्नुपर्ने आवश्यकता देखिन्छ । उदाहरणका लागि, अहिले मोबाइल फोन धेरैको हातमा हुने गर्छ । तिनै मोबाइलमा रिङटोन बज्दा ‘कसैले लोभ लालच देखाएर रुसी सेनामा पुर्याउला है, आफू होसियार भई आप्mना स्वदेश र परदेशमा रहेका आफन्तलाई समेत होसियार बनाऔंँ,’ भन्ने सूचना बजिदिए कति प्रभावकारी हुँदो हो ! त्यसैगरी, काम लगाइदिउँला, महिनामा यति कमाइ हुन्छ, उति कमाइ हुन्छ भन्दै नानाथरीका प्रलोभन देखाएर सीधासाधा गरिबलाई घर न घाटको बनाउने त्यस्ता मानव तस्करहरू पत्ता लगाएर देशमा कडाभन्दा कडा सजाय दिने व्यवस्था भएको भए केही हदसम्म यो अवस्थाको रोकथाम हुन्थ्यो कि ? 

हाल अत्यधिक चर्चामा रहेको रुस–युक्रेन युद्धमा मात्र होइन, नेपाली रगत विदेशी भूमिमा सस्तोमा धेरैचोटी बगिसकेको छ । सन् २०१६ मा चौधजना नेपालीको तालिवानी सेनाको बम विस्फोटमा परेर मृत्युवरण गर्नुपरेको थियो । भारत, बेलायत, अमेरिकालगायतका देशहरूका लागि लड्दा पनि कयौँ नेपालीको रगत बगिसकेको छ । रोजगारीका लागि सन् २००५ मा इराक पुगेका १२ जना नेपालीले घाँटी रेटिएर मर्नुपरेको भिडियो आइपुग्दा देशमा विरोधको आगो बलेको थियो । यस्ता कयौँ घटना होलान्, जुन बाहिर आएकासमेत छैनन् । यही प्रसंगमा वैदेशिक रोजगार विभागको एउटा तथ्यांकअनुसार ०७८/७९ मा मात्र १,४७९ र ०७९/८० को वैशाखसम्म १,०३२ जना नेपालीको विदेशमा मृत्यु भइसकेको छ । दैनिक सरदर चारजनाको पार्थिव शरीर काठको बाकसभित्र थुनिएर नेपाल भित्रिने गरेको हृदयविदारक दृश्यले जोकोहीको मन छियाछिया हुन्छ । वयस्क ऊर्जावान युवा विदेश जाँदा नानाथरीका सपना बोकेर जान्छन् र फर्किँदा बाकसमा आउँछन् । नेपाली नौजवानको ज्यानसँग साटिँदै छ रोजगारी । देशमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीको मूल्य निकै चर्काे रूपमा देश र समाजले व्यहोर्नुपरिरहेको छ । आर्थिक रूपमा निकै उत्पादनशील उमेरका युवाको श्रम अर्काको देशका लागि खर्च भइरहेको छ । समय र आवश्यकताअनुरूप सामाजिक कार्य चलायमान नभएमा त्यस देशको शासन व्यवस्थाले सही दिशाबोध गर्न सक्दैन । यसले नेपाललाई नकारात्मक र दुरगामी असर पार्नेछ । यो स्वाभाविक होइन, सोचनीय विषय हो । 

रुसी सेनामा नेपालीहरू भर्ना हुने क्रम अहिले पनि रोकिएको छैन । युक्रेनले पाँच नेपाली युद्धबन्दी सार्वजनिक गर्दै रुसी सेनामा नेपालीलाई भर्ती हुनबाट रोकी आप्mना नागरिक जोगाउन नेपाल सरकारलाई आग्रह गरेको छ । रुसी सेनामा नेपालीलाई भर्ना गर्नु पूर्ण रूपमा गैरकानुनी हो । नेपाली नागरिकलाई भारत र बेलायतबाहेक अरू कुनै पनि देशले युद्धमा प्रयोग गर्न पाउँदैन । नेपाल सन् १९४१ को जेनेभा कन्भेन्सनको पक्षरत मुलुक भएकाले कुनै पनि देशले द्वन्द्वग्रस्त क्षेत्रमा नेपालीलाई सैनिकका रूपमा लड्नका लागि प्रयोग गर्न मिल्दैन । यसैले नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउन ढिलो भइसक्यो । जनताको जीवनरक्षा गर्ने जिम्मेवारी सरकारको हो । त्यहाँ भएकालाई जसरी पनि फिर्ता ल्याउन र त्यहाँको वास्तविकता नबुझी जान चाहनेलाई रोक्न सक्ने हैसियत सरकारमा हुनुपर्छ । रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन गरिएका हालसम्मका कूटनीतिक प्रयासले ठोस प्रगति भएको छैन, अर्थात् परिणाम देखिएको छैन । नेपालले यस विषयमा कडा कदम चाल्न ढिला भैसकेको छ ।