१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ जेठ १ बुधबार ०७:४३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो डाउन सिन्ड्रोम ?

Read Time : > 1 मिनेट
२०७६ जेठ १ बुधबार ०७:४३:००

मानव शरीरका कोषहरूमा साधारण अवस्थामा हुनेभन्दा एउटा क्रोमोजोम बढी हुने अवस्थालाई डाउन सिन्ड्रोम भनिन्छ । सामान्यतया ४६ वटा क्रोमोजोम २३ जोडीका रूपमा कोषमा मिलेर बसेका हुन्छन् । तर, डाउन सिन्ड्रोम भएको अवस्थामा ४७ क्रोमोजोम हुन्छन् । बढी भएको एउटा क्रोमोजोम २१औँ जोडीका रूपमा रहने भएकाले यसलाई ट्राइसोमी–२१ भनिन्छ । डाउन सिन्ड्रोम कुनै रोग नभई जन्मजात अवस्था हो । जुन बच्चा गर्भमै हुँदा विकसित भइसकेको हुन्छ । यो एक खालको बौद्धिक तथा शारीरिक अपांगता हो, जसका कारण बच्चाको शारीरिक तथा मानसिक अवस्थामा भिन्नता देखापर्छ ।

कारण

अध्ययनअनुसार केही प्रतिशतमा वंशानुगत गुणका कारण हुने डाउन सिन्ड्रोम देखिएको छ । यद्यपि, ढल्किँदो उमेरका महिलाबाट जन्मिएका बच्चामा यो समस्या बढी देखिने गरेको छ । विशेषगरी, ३५ वर्षभन्दा माथिको उमेरमा विवाह गरेका दम्पतीबाट जन्मने बच्चामा डाउन सिन्ड्रोमको सम्भावना उच्च रहन्छ ।  

लक्षण 

  • डाउन सिन्ड्रोम भएकामा अन्यमा भन्दा बढी स्वास्थ्य समस्या देखापर्छ । सिन्ड्रोम भए–नभएको निश्चित गर्न क्रोमोजोम परीक्षण गर्न सकिन्छ । जसलाई मेडिकल भाषामा कार्योटाइप परीक्षण भनिन्छ । त्यस्तै, गर्भावस्थामा समेत अल्ट्रासाउन्डको माध्यमबाट बच्चामा डाउन सिन्ड्रोम भए/नभएको पत्ता लगाउन सकिन्छ । 
  • डाउन सिन्ड्रोम भएका बच्चामा सुरुवाती समयदेखि नै विभिन्न लक्षण देखापर्न थाल्छन् । उनीहरूलाई सामान्यभन्दा बढी हेरचाहको आवश्यकता पर्छ । जन्मिँदा कम तौल हुने, जोर्नी तथा मांसपेशी खुकुलो हुने, अनुहार गोलो हुने, आँखा छड्के हुने, नाक र मुखको साइज सानो हुने, जिब्रो बाहिर निकालिरहने वा चुसिरहने जस्ता लक्षण देखिन्छन् । त्यस्तै, कान, टाउको, दाँत, औँला, पेट, छाती र गर्दन असामान्य प्रकृतिका हुने गर्छन् । 
  •  यस्ता बच्चामा शारीरिक वृद्धि र विकास ढिलो हुने वा भिन्न हुने हुन्छ । उचाइ कम हुन्छ । कतिपयमा हत्केलाको मध्य भागमा एउटा मात्र रेखा हुन्छ । अन्य बच्चाको तुलनामा छातीको संक्रमण र मुटुको समस्या बढी हुने देखिन्छ । 

उपचार

डाउन सिन्ड्रोमको पूर्ण रूपमा निको हुने गरी उपचार हुँदैन । तर, विभिन्न थेरापीबाट बच्चाहरूको जीवनशैलीमा सुधार ल्याउन सकिन्छ । शारीरिक र मानसिक स्वास्थ्यमा सहयोग पुग्ने खालका थेरापी तथा कार्यक्रमले उनीहरूको स्वास्थ्यमा सुधार आउन सक्छ । बढी उमेर ढल्किसकेपछि पनि बच्चा जन्माउन चाहने दम्पतीले जेनेटिक काउन्सिल अनिवार्य रूपमा लिनुपर्छ । जसबाट अर्को बच्चामा हुन सक्ने सम्भावित समस्याबाट बच्न सकिन्छ ।  

केही तथ्य

  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर आठ सयमध्ये एकजनामा डाउन सिन्ड्रोम हुने गर्छ । जन्मजात विभिन्नखाले अपांगता लिएर जन्मने ४५ हजार शिशुमध्ये १५ सयमा यस्तो समस्या देखिने गरेको पाइन्छ । 
  • केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा कुल जनसंख्याको २० प्रतिशत अपांगता भएकामध्ये पाँच प्रतिशतमा डाउन सिन्ड्रोमको समस्या छ ।