पेरिस ओलम्पिकमा ऐतिहासिक रूपमा छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो तयारी गर्न सुझाव दिएका छन् । उलने बाँकी समयको भरपुर उपयोग गर्न अनुरोध गरेका हुन् ।
राखेप मुख्यालयमा भएको भेटमा सदस्यसचिव घिसिङले भने, ‘पेरिस ओलम्पिकका लागि छनोट हुनु भएकोमा हार्दिक बधाई । आफू भन्दा वरीयतामा माथि र बलिया खेलाडीसंग खेल्ने वातावरण बनाउन संघको ध्यानकर्षण गराउन चाहन्छु । अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसंग प्रतिस्पर्धा गर्ने अवसर मिले झन् राम्रो । तयारीका लागि परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुनेछैन ।’
उनले प्रशिक्षणका लागि विदेशमा पठाउने वा के गर्दा उपयुक्त हुन्छ त्यसको समन्वय गर्न संघलाई निर्देशन दिएका छन् । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुनेछन् । प्रिन्स हाल विश्व वरीयतामा एक सय ७९औँ स्थानमा छन् । जुनियर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा थिए ।