
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण जरुरी भएको बताएका छन् । अहिलेको गणतन्त्रप्रति असन्तुष्टि बढ्दो रहेको र यसका लागि गणतन्त्र दोषी नभएको उल्लेख गर्दै उनले सुस्पष्ट नेतृत्वसहितको राज्य प्रणाली जरुरी रहेको बताए । समाजप्रति उत्तरदायी हुने राज्य प्रणालीको दिशा निर्देश समाजवादबाट हुन सक्ने धारणा राख्दै उनले यसमा बहसको खाँचो रहेकाे औँल्याए ।
जनपत्रकार संगठन र जनगर्जन मिडिया प्रालिले बिहीबार बुटवलमा गरेको २३औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्णसेन इच्छुकको भूमिका विषयक अन्तर्क्रियामा उनले गणतन्त्र स्थापना भए पनि सामन्तवाद नष्ट गर्न नसक्दाको परिणाम अहिलेको संकट भएको बताए ।
जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउन नसक्नु र राज्यलाई वास्तविक गणतन्त्रमा परिवर्तन गर्न नसक्नुको परिणाम नै अहिलेको बढ्दो जनअसन्तुष्टि रहेको उनले विश्लेषण गरे ।
अहिलेको असन्तुष्टिको समाधान नेपाली विशेषताको मौलिकतासँग मेल खाने समाजवाद हुने उनले बताए । अब संकटको समाधान यसरी हुन सक्छ भनेर बहस गर्नु जरुरी रहेको भन्दै उनले समाजको रूपान्तरण गर्ने वेला भएको बताए । असन्तुष्टिलाई रूपान्तरण गर्दै विघटनितर नभई निर्माणतर्फ लग्नुपर्ने बताए । उनले समाजको रूपान्तरण गर्न नेपाली मौलिकताको समाजवादका लागि नयाँ राजनीतिक ध्रुवीकरण जरुरी भएको धारणा राखे ।
कृषिमा जमिनदारी प्रथा रहेको, शिक्षा, स्वास्थ्य महँगो रहेको भन्दै विप्लवले पार्टीहरूका घोषणापत्रमा समाजवाद लेखेर नहुने, यसका लागि नेपाली मौलिकताको समाजवादका लागि खुला बहसको खाँचो औँल्याए । समृद्ध नेपाल सुखी नेपाली नारा उपयुक्त नभएको चर्चा गरे । आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन नेपालको नारा हुनुपर्नेमा उनले जोड दिए ।