चीनको ‘पाण्डा कूटनीति’जस्तै पहलको रूपमा मलेसियाले पाम तेल खरिद गर्ने देशहरूलाई उराङउटान उपहार दिने याेजना बनाएकाे छ।
उराङउटान अत्यन्तै धैर्यवान र बुद्धिमान स्तनधारी प्राणी हो। यिनीहरू औसत बाँदरभन्दा ठूला हुन्छन्। एउटा उराङउटानको तौल एक सयदेखि दुई सय पाउन्डसम्म हुन्छ। दिनको समयमा तिनीहरू धेरैजसो समय आराम गर्छन्।
कमोडिटीमन्त्री जोहरी अब्दुल घानीले ‘उराङउटान कूटनीति’ रणनीतिले पाम तेल व्यापार गर्ने राष्ट्रहरू विशेष गरी इयू र भारतजस्ता प्रमुख आयातकर्ता क्षेत्रहरूलाई लोपोन्मुख जनावर उपहार दिइने बताए।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का अनुसार उराङउटानहरू गम्भीर खतरामा छन्। फँडानी, कृषि विस्तार, विशेषगरी पाम तेलको बगैँचा र पूर्वाधार विकासका कारण वासस्थानको हानिले सबैभन्दा ठूलो खतरामा रहेका छन्।
‘उराङउटान कूटनीतिको सुरुवात गरेर मलेसियाले जैविक विविधताको संरक्षणमा सधैँ प्रतिबद्ध रहेको विश्वलाई देखाउनेछ,’ मन्त्री घानीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्। उनले पाम तेल कम्पनीहरूलाई मलेसियामा वन्यजन्तुको संरक्षण र प्राविधिक विशेषज्ञता प्रदान गर्न गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्न आग्रह गरे।
पर्यावरणविद्हरूले मलेसिया र इन्डोनेसियामा वर्षावनको विनाशलाई बढाउन पाम तेललाई दोष दिएका छन्। यी दुई मुलुकले विश्वव्यापी उत्पादनको दुईतिहाइभन्दा बढी पाम तेल उत्पादन गर्दछन्। यो खाद्य तेल, केक, चकलेट र मार्जारिनका साथै सौन्दर्य प्रसाधन, साबुन र स्याम्पुमा प्रयोग गरिन्छ।
बेइजिङले लामो समयदेखि पाण्डा कूटनीतिलाई ‘सफ्ट पावर’को रूपमा प्रयोग गर्दै आएको छ। उसले विदेशी चिडियाखानाहरूमा पाण्डाहरू ऋण मात्र दिन्छ। सामान्यतया कुनै पनि सन्तान जन्मिएको केही वर्षभित्र देशको प्रजनन कार्यक्रममा सामेल हुन फिर्ता गर्नुपर्छ।