१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
तस्विर : तलब नपाएपछि टाउकोमा कालोपट्टि बाँधेर विरोध जनाउँदै त्रिनगर नाकाको हेल्थ डेस्कमा कार्यरत कर्मचारी ।
२o८१ जेठ ६ आइतबार १o:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नाकामा खटिएका स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब पाएनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:२८:oo

सुदूरपश्चिममा भारतसँगको सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत करारका कर्मचारीले नौ महिनादेखि तलब पाएका छैनन् । कञ्चनपुरको गड्डाचौकी र त्रिनगर, कैलालीको खक्रौला, बैतडीको जुलाघाट तथा दार्चुलाको पुलघाट नाकास्थित हेल्थ डेस्कमा कार्यरत ३० जना कर्मचारी पारिश्रमिकविनै काम गरिरहेका छन् । लामो समयदेखि तलब नपाउँदा खर्च चलाउनै समस्या भएको उनीहरूको गुनासो छ ।

त्रिनगर नाकामा पाँचजना स्वास्थ्यकर्मीसहित १० जना कर्मचारीले गत असोजयता पारिश्रमिक पाएका छैनन् । त्रिनगर हेल्थ डेस्कका इन्चार्ज गणेश साउदले तलब नपाउँदा आर्थिक समस्याले पिरोलेको गुनासो गरे । ‘नौ महिनादेखि तलब नपाएरै काम गरिरहेका छौँ, घरखर्च चलाउन निकै समस्या भइसक्यो,’ उनले भने, ‘डेरामा बस्नेलाई झन् समस्या छ । निर्देशनालयले तलब दिनलाई बजेट आएको छैन भन्छ ।’ असोजयता तलब नपाएको तथा साउन र भदौ महिनाको पनि आधा तलब मात्र पाएको उनले बताए ।

कोरोनाको महामारी फैलिएका वेला भारतबाट काम गरेर फर्कने नेपालीको स्वास्थ्य परीक्षणका लागि सरकारले भारतसँगका सीमानाकाहरूमा हेल्थ डेस्क स्थापना गरेको थियो । कोरोनाकालमा करारमा राखिएका कर्मचारीले परीक्षण गर्दै आएका छन् । 

सुदूरपश्चिमको प्रमुख नाका त्रिनगरको हेल्थ डेस्कमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयअन्तर्गत १० जना, स्वास्थ्य कार्यालय कैलालीबाट तीनजना र स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाबाट चार गरी १७ जना कर्मचारी कार्यरत छन् । तीमध्ये निर्देशनालयअन्तर्गत पाँचजना स्वास्थ्यकर्मी, दुईजना तथ्यांक सहायक र तीनजना कार्यालय सहयोगीले तलब नपाएका हुन् ।  

हेल्थ डेस्कका कर्मचारीले भारतबाट फर्कने नेपालीमा शंकास्पद लक्षणका आधारमा कोरोना, टिबी, एचआइभी, डेंगु, मलेरियालगायत रोगको परीक्षण तथा ‘स्क्रिनिङ’ गर्दै आएका छन् । दिनरात नभनी जोखिम मोलेर काम गरिरहे पनि लामो समयसम्म तलब नपाउँदा आफूहरू निराश भएको हेल्थ डेस्कमा कार्यरत ल्याब असिस्टेन्ट भावनाकुमारी साउदले बताइन् । ‘तलब पाइएको छैन, दैनिकी चलाउन धौधौ छ,’ उनले गुनासो गरिन् ।

कोरोना संक्रमणका वेला जनशक्ति अभाव भएपछि निर्देशनालयले नाकामा स्वास्थ्य परीक्षणका लागि करारमा कर्मचारी राखेको थियो । यसअघि ६–६ महिनामा करार अवधि नवीकरण हुँदै आएकोमा चालू आर्थिक वर्षदेखि उनीहरूको करार अवधिसमेत थपिएको छैन ।  

‘स्वास्थ्य निर्देशकले तलबको व्यवस्था गर्छौँ, काम गर्दै गर्नु भनेपछि करार नथपिए पनि हामीले काम गरिरहेका छौँ,’ हेल्थ डेस्क इन्चार्ज साउदले भने, ‘वैशाखमा तलब दिने भनिएको थियो, तर अहिले पनि निर्देशनालयले विभागबाटै बजेट आएको छैन भनेको छ ।’ हेल्थ डेस्कमा किट अभाव भएपछि एक सातायता कोरोना परीक्षण पनि रोकिएको छ ।

लामो समयदेखि तलब नपाएपछि विरोधस्वरूप कर्मचारीले सोमबारबाट टाउकोमा कालोपट्टी बाँधेर काम गरेका छन् । तलब नदिए सेवा नै बन्द गर्नुपर्ने अवस्था आउने उनीहरूको चेतावनी छ । ‘न करार थपिएको छ, न तलब पाइएको छ,’ साढे दुई वर्षदेखि करारमा कार्यरत तथ्यांक सहायक आरती धामीले भनिन्, ‘तलब दिन सकिँदैन, काम नगर भनेको भए विकल्प खोज्थ्यौँ ।’ 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भने संघीय सरकारबाट बजेट नआएकाले नाकाका हेल्थ डेस्कहरूमा कार्यरत कर्मचारीलाई तलब दिन नसकिएको जनाएको छ । निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीले रकम निकासाको माग गर्दै निर्देशनालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको जानकारी दिए । 

केन्द्रबाट बजेट नआउँदा त्रिनगरसहित कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको नाकामा रहेका हेल्थ डेस्कमा करारमा कार्यरत २७ जना कर्मचारीको तलब रोकिएको उनले बताए । त्यस्तै खक्रौला नाकामा कार्यरत तीनजना कर्मचारीको तलब भने प्रदेश सरकारले व्यहोर्ने भए पनि प्रदेशबाट बजेट नआएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका महामारी फोकल पर्सन हेमराज जोशीले करारका कर्मचारीका लागि एक करोड ११ लाख बजेट आउनुपर्नेमा १८ लाख मात्र निकासा भएकाले दुई महिनाको आधा तलब मात्र वितरण गरिएको बताए । तलबका लागि बजेट स्वीकृतिको फाइल अर्थ मन्त्रालय पुगेको जानकारी केन्द्रले गराएको उनले बताए ।      
 

ad
ad