१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकपका लागि चार टोलीले गरे खेलाडी घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:५५:oo

दक्षिण अफ्रिका, इंग्ल्यान्ड, भारत र न्युजिल्यान्डले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेका छन् । क्रिकेटको छोटो फम्र्याटका रूपमा चिनिने टी–२० विश्वकपको नवौँ संस्करणको आयोजना अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा गर्दै छन् । विश्वकप १ जुनदेखि सुरु हुनेछ ।

 न्युजिल्यान्ड टोली घोषणा गर्ने पहिलो राष्ट्र बनेको थियो । न्युजिल्यान्डले सोमबारै केन विलियम्सको कप्तानीमा एक वैकल्पिक सहित १६ खेलाडी घोषणा गरिसकेको छ । दक्षिण अफ्रिकाले मंगलबार एडन मारक्रमको कप्तानीमा टोलीको घोषणा गरेको हो । अहिले मारक्रम भारतमा चलिरहेको १७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्राइजर्स हैदराबादबाट प्रतिस्पर्धा गरिरहेका छन् । 

दक्षिण अफ्रिकाले आइपिएलमा आबद्ध खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । मुम्बई इन्डियन्समा आबद्ध तीव्र गतिका बलर जेराल्ड कोट्जीले स्थान बनाए । दक्षिण अफ्रिकी टोलीमा ओट्रिनल बार्टम्यान, क्विन्टन डी कोक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज सम्सी र ट्रिस्टन स्टब्स छन् । यस टोलीमा नान्द्रे बर्गर र लुगी एनगिडी रिजर्भ खेलाडीका रूपमा रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाले समूह ‘डी’मा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

  इंग्ल्यान्डका कप्तान बटलर 
विश्वकपका लागि जोस बटलरले इंग्ल्यान्डको कप्तानी गर्ने भएका छन् । इंग्लिस क्रिकेट बोर्डले टोलीमा क्रिस जोर्डनलाई पुनरागमन गराएको छ । उनीसँगै तीव्रगतिका बलर जोफ्रा आर्चरले स्थान पक्का गरेका छन् । सन् २०२३ को सेप्टेम्बरपछि जोर्डनले स्थान पक्का गरेका हुन् । इंग्ल्यान्डले पनि विश्वकपका लागि टोली तयार गर्दा आइपिएलमा आबद्ध खेलाडीलाई प्रमुख बनाएको छ । टोलीको उपकप्तानी मोइन अलीले गर्नेछन् । फिल साल्ट, बिल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, साम कुर्रन, क्रिस जोर्डन, टम हर्टली, आदिल रासिद, जोफ्रा आर्चर, मार्क उड र रिसे टप्ली छन् । समूह ‘बी’ रहेको इंग्ल्यान्डले अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

 सञ्जु र ऋषभको पुनरागमन
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई)ले टोली घोषणा गर्दा रिषभ पन्त र सञ्जु सामसङले स्थान सुरक्षित गरेका छन् । बिसिसिआईले चार रिजर्भ खेलाडीसहित १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको कप्तानी रोहित शर्मा र हार्दिक पाण्ड्याले उपकप्तानी गर्नेछन् । यी दुवै मुम्बई इन्डियन्समा आबद्ध छन् । हार्दिकले मुम्बई इन्डियन्सको कप्तानी गरिरहेका छन् । सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनामा घाइते भएपछि पन्तले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हुन् । भारतीय टोलीमा शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेस खान वैकल्पिक खेलाडीका रूपमा रहेका छन् । 

आइपिएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका कारण शिभम दुवेले स्थान पक्का गरेका छन् । भारतले वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा तीव्र गतिभन्दा स्पिनरलाई विशेष स्थान दिएको छ । रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव र युजवेन्द्र चहलजस्ता अनुभवी बलर समावेश गरिएको छ । तीव्र गतिमा जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज र हार्दिक पाण्ड्या छन् । ब्याटिङ लाइनअपमा यशस्वी जैसवाल, विराट कोहली र सूर्यकुमार यादव रहेका छन् । यसपटक लोकेश राहुलले स्थान बनाउन सकेनन् । 

समूह ‘ए’ मा भारतले ५ जुनमा आयरल्यान्डविरुद्ध पहिलो खेल खेल्ने छ । भारतको समूहमा चिरपरचित प्रतिद्वन्द्वी पाकिस्तानसमेत छ । पाकिस्तान र भारतबीच ९ जुनमा न्युयोर्कमा खेल हुनेछ । यस समूहमा आयोजक अमेरिका र क्यानडा पनि छन् ।

ad
ad