१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका ढोरपाटन (बागलुङ)
२o८१ बैशाख २१ शुक्रबार ११:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागलुङका १५ वनमा लागेकाे डढेलाे नियन्त्रणबाहिर  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, ढोरपाटन (बागलुङ)
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५५:oo

बागलुङको बरेङ गाउँपालिका– २ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुई दिनपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जनभन्दा बढी वनमा आगलागी भइसकेको छ । दिनप्रतिदिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरबितर बनेका छन् ।

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिइन् ।

उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रणबाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ । अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रणबाहिर रहेको केसीले जानकारी दिइन् । हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको छ ।

चार दिनदेखि निसीखोला गाउँपालिका– २ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन । उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नम्बर ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ । हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका– ४ का वडाध्यक्ष टीकानिधि पौडेलले बताए । 

आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उनको भनाइ छ । वडा नम्बर २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेल बताए ।

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो संख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न सकिएको छैन । सडकभन्दा निकै टाढाको वनमा आगलागी भएकाले दमकलको प्रयोगसमेत गर्न सकिएको छैन ।  
  
 
 

ad
ad