१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेको रोशीमा पाँच विद्यालय समायोजन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१४:oo

काभ्रेको रोशी गाउँपालिकाभित्र सञ्चालित पाँच विद्यालय समायोजन गरिएको छ । विद्यालय अनुगमन तथा सुपरिवेक्षण प्रतिवेदनअनुसार गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गरी कार्यान्वयन गरेको हो । रोशी गाउँपालिकाभित्र ६९ वटा सामुदायिक विद्यालय रहेकोमा पाँचवटा समायोजन गरी ६४ वटा बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए । 

वडा नम्बर १ मा सञ्चालित ठेडाचौर प्राथमिक विद्यालय र चेतना माध्यमिक विद्यालय समायोजन भई ठेडाचौर चतना माध्यमिक विद्यालय भएको छ । यस्तै, वडा नम्बर २ मा अवस्थित गणेश प्राथमिक विद्यालय र ग्रामस्थान प्राथमिक विद्यालय समायोजन भई ग्रामस्थान गणेश प्राथमिक विद्यालय भएको छ । महाभारत प्राथमिक विद्यालय र भुसुने कालीदेवी प्राथमिक विद्यालय समायोजन भई भुसुने कालीदेवी महाभारत प्राथमिक विद्यालय नामकरण गरिएको छ ।

यसैगरी वडा नम्बर ७ मा अवस्थित बुद्ध प्राथमिक विद्यालय र गौतमनाथ आधारभूत विद्यालय समायोजन भई गौतमबुद्ध आधारभूत विद्यालय र वडा नम्बर ९ मा अवस्थित मंगलेश्वर प्राथमिक विद्यालय र विन्दावासिनी माध्यमिक विद्यालय समायोजन भई विन्दावासिनी मंगलेश्वर माध्यमिक विद्यालय भएको छ । 

आठ विद्यालयको तह घट्यो
गाउँपालिकाभित्रका आठवटा विद्यालयको तह घटाइएको छ । विद्यार्थी संख्याको आधारमा तह घटाइएको हो । कक्षा एकदेखि कक्षा पाँचसम्म सञ्चालित विद्यालयहरूको तह घटाएर कक्षा एकदेखि कक्षा तीनसम्म अध्यापनको अनुमति दिइएको छ ।

वडा नम्बर ४ मा अवस्थित थानापति प्रावि, वडा नम्बर ७ मा अवस्थित जनज्योति प्रावि, खाडादेवी प्रावि, वडा नम्बर ८ मा अवस्थित खार्तामहादेवस्थान प्रावि, गायत्री प्रावि, देवीश्वरी प्रावि, वडा नम्बर ९ मा अवस्थित भूमेस्थान प्रावि र वडा नम्बर ११ मा अवस्थित सरस्वती प्राविको तह घटाइएको छ ।

६ वटा विद्यालय सुधार्नुपर्ने
गाउँपालिकाभित्र सञ्चालित ६ वटा विद्यालयलाई सुधारका लागि गाउँपालिकाले पत्राचार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार विद्यार्थी संख्या न्यून भएको, तर भौगोलिक विकटता र अर्काे विद्यालय टाढा भएका कारण हाललाई कायम राखी सुधारको लागि पत्राचार गरिएको छ । 

रोशी– ५ मा अवस्थित सिद्धार्थ प्रावि र गणेश आवि, वडा नम्बर ६ मा अवस्थित कालीदेवी आवि, वडा नम्बर ७ मा अवस्थित गौतमनाथ आवि, वडा नम्बर ८ मा अवस्थित इन्द्रोदय आवि र वडा नम्बरनं. १० मा अवस्थित महाभारत प्राविलाई सुधारका लागि पत्राचार गरेको तामाङले जानकारी दिए । गाउँ शिक्षा समितिको निर्णयलाई संघीय सरकारको विद्यालय समायोजन आधार मापदण्ड समितिलाई मध्येनजर गरी कार्यान्वयन गरिएको तामाङले बताए ।

विद्यार्थी कम भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । ‘भौगोलिक अवस्था र विद्यार्थी संख्यालाई हेरेर केही विद्यालयलाई नजिकको विद्यालयसँग समायोजन गरेका छौँ, केही विद्यालयमा विद्यार्थी संख्या न्यून भए पनि भौगोलिक कारण सुधार गर्न अनुरोध गरेका छौँ र केही विद्यालयको तह घटाएका छौँ,’ अध्यक्ष लामाले भने, ‘हामीले विद्यालय अनुगमन तथा सुपरिवेक्षण प्रतिवेदन, २०८० लाई हेरेर एकीकृत सूचना व्यवस्थापन प्रणालीको आधारमा समायोजन, तह घटाउने र सुधारका लागि अनुरोध गर्ने काम गरेका हौँ ।’
 

ad
ad