बर्दियाको ठाकुरबाबा नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत नगरपालिकामातहतका कर्मचारीहरूले सन्तानलाई सामुदायिक विद्यालयमा नपढाए सेवा–सुविधा रोक्का गर्ने भएको छ।
नगर कार्यपालिकाको बैठकले निर्णय गरी जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने सूचना जारी गरेको हो।
गत वैशाख ३ गते बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। निर्णयमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरू र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा छोराछोरीलाई पढाउनुपर्ने उल्लेख छ।
सामुदायिक विद्यालयमा नपढाउनेलाई नियमानुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ। त्यसैगरी, नगरपालिकाभित्रका सहकारी, बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संघ–संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्यवंसेविका, टोल विकास संस्था, सामुदायिक तथा मध्यवर्ती वन उपभोक्ता समिति तथा विभिन्न सञ्जालहरूका पदाधिकारीहरूलाई समेत छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउन आह्वान गर्ने निर्णय भएको नगरप्रमुख तिलकराम लम्सालले बताए।
नगरप्रमुख लम्सालले संस्थागत विद्यालयजत्तिकै गुणस्तरीयता कायम गरेपछि कार्यपालिकाबाट निर्णय गरी लागू गरिएको जिकिर गरे। उनले भने, ‘शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी संस्थागत विद्यालयमा पढ्ने, तर जनताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउ भन्ने भनी गुनासो आएको थियो। सबै तयारी पूरा भएपछि यस वर्षदेखि सामुदायिक विद्यालयमा पढाउनैपर्ने नीति ल्याएका हौँ।’
सामुदायिक विद्यालयमा नपढाउनेको नगरपालिकाबाट पाउने तलब तथा सेवा–सुविधा रोक्का हुने प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए। ‘हामीले नगर शिक्षा ऐन तथा नियमावलीसमेत बनाएर लागू गरेका छौँ,’ उनले भने, ‘गुणस्तरीयतामा सुधार गरी निर्णयको उल्लंघन गर्नेलाई कारबाहीसमेत गर्ने निर्णय भएकाले शतप्रतिशत निर्णय कार्यान्वयन हुन्छ।’
ठाकुरबाबा नगरपालिकाले गत शैक्षिक सत्रदेखि योजनाबद्ध रूपमा शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। गत शैक्षिक सत्रमा नगरपालिकाले शिक्षा क्षेत्रमा ३४ प्रतिशत बजेट विनियोजन गरेको थियो। नगरपालिकाका विद्यालयहरूमा आवश्यकताअनुसार ६७ जना नगर शिक्षकहरू नियुक्त गरेको थियो। कारणवश विद्यालयका कक्षा खाली भएमा तीन दिनभित्र शिक्षक उपलब्ध गराउने गरी शिक्षक बैंकको समेत व्यवस्था गरिएको छ।
ठाकुरबाबा नगरपालिकामा शैक्षिक सत्र २०७९ मा कक्षा आठमा सामुदायिक विद्यालयका १८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। गत शैक्षिक सत्रमा ४१ प्रतिशत उत्तीर्ण भएकामा आगामी दुई वर्षभित्र ७० प्रतिशत उत्तीर्ण गराउने गरी शैक्षिक गुणस्तर कायम गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए।
सामुदायिक विद्यालयका शिक्षककै छोराछोरी सामुदायिक विद्यालयमा पढ्न थालेपछि शैक्षिक गुणस्तर बढ्ने अपेक्षा गरिएको छ।