१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रौतहटका दुध उत्पादक किसानले पाएनन् आठ करोडभन्दा बढी भुक्तानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o४:oo

रौतहटको चन्द्रपुर नगरपालिका– ८ का किसान हरि तिमिल्सिनाले आफ्नो गाउँमा रहेको सहकारीलाई दुध बिक्री गरेको ६ महिनाको रकम पाएका छैनन्। दुध बिक्री गरेरै घरखर्च टारिरहेका उनले सहकारीलाई दैनिकजसो आफ्नो पैसा आए–नआएको सोध्छन्। तर, सधैँझैँ सहकारीको जवाफ उही हुन्छ–उद्योगबाट पैसा आएको छैन।

‘दाना, चोकर र श्रमको खर्च एकातिर, पैसा नआउने समस्या अर्कोतिर,’ गुनासो गर्दै हरिले भने, ‘अब दुध बिक्रीको पैसा आउला र घर खर्च टारौँला भन्ने पनि रहेन।’

चन्द्रपुर– ९ मा रहेको जय किसान दुध उत्पादक सहकारीले नै सरकारी स्वामित्वको दुग्ध विकास संस्थानबाट लाखौँ भुक्तानी नपाएपछि किसानको भुक्तानी रोकिएको हो।

रौतहटका पशुपालक किसानले ६ महिनादेखि दुधको पैसा पाउन सकेका छैनन्। ‘यहाँका किसानले २०४८ सालदेखि दुध उत्पादन र बिक्री गरिरहेका छन्। हामीले पहिलोपटक यस्तो समस्या भोगिरहेका छौँ,’ रौतहट दुध उत्पादक किसान संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले भने।

दुधको पैसा माग्दा उल्टै दुध कटौती गरेर ‘मिल्क होलिडे’ गर्ने धम्की पाइरहेको उनले बताए। जिल्लाभर नै यस्तो समस्या हुँदा पनि सरकार र सरोकारवाला निकाय नबोलेको भन्दै उनले असन्तुष्टि जनाए।

एक महिनाको दुधको पैसा भने बल्लबल्ल डिडिसीले गत शुक्रबार सहकारीहरूलाई दिएको अधिकारीको भनाइ छ। अझै पाँच महिनाको दुधको पैसा किसानले सहजै पाउने अवस्था नरहेको सन्तपुरका पशुपालक किसान राजन तिमिल्सिना बताउँछन्।

६ महिनादेखि आफूले सहकारीमार्फत बेचेको दुधको पैसा नपाएपछि वस्तुलाई खुवाउने दाना किन्नसमेत समस्या भएको चन्द्रपुर– ५ का नारायण विश्वकर्माले बताए।

केन्द्रीय दुग्ध सहकारी संघका अनुसार दुध किसानको भुक्तानी समस्या अहिले देशभर छ। सहकारीबाट उठेको दुधको खपत नभएको भन्दै सरकारी तथा निजी डेरीहरूले समयमै रकम भुक्तानी नगर्दा किसानको करिब साढे दुई अर्ब रुपैयाँ उधारो बाँकी रहेको संघले जनाएको छ। देशभर दैनिक २४ लाख लिटर दुध उत्पादन भइरहेको छ।

हरेक १५ दिनमा हुने दुधको भुक्तानी अहिले पाँच महिनादेखि रोकिएपछि रौतहटका किसानले पशुपालन पेसा नै छाड्ने अवस्था आएको सिन्धुरेघारीका किसान प्रकाश चौलागाईंले बताए।

रौतहट जिल्लाका किसानहरूले दुध बेचेको पैसा हेटौँडामा रहेको सरकारी स्वामित्वको डिडिसीबाट पाँच करोड लिनुपर्नेछ भने देशका विभिन्न स्थानमा रहेका निजी डेरीहरूले यहाँबाट लगेको दुधको तीन करोड भुक्तानी लिन बाँकी छ। दुध उत्पादक किसान संघ रौतहटका अध्यक्ष अधिकारीका अनुसार ६ महिनापछि डिडिसीले शुक्रबार एक महिनाको पैसा पठाएको हो।

ad
ad