१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

माथिल्लो अरुण र दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo

नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाटकाे माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ।

टिबिएममार्फत भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दुधकोशी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ। अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ। 

दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाहरूको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो–इलेक्ट्रिक लि.का प्रबन्ध–सञ्चालक फणीन्द्रराज जोशी, दुधकाेशी जलविद्युत् कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टिबिएममार्फत खनिएको सुरुङको जानकारी लिएको छ।

टोलीले टिबिएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा व्यहोर्नुपरेका समस्या तथा चुनौतीहरू, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका दुईवटा आयोजनाहरूको सुरुङ टिबिएममार्फत खन्दा समय थौरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत् आयोजनाहरू प्रयोगमा ल्याउन लागिएको बताए। 

घिसिङले माथिल्लो अरुण र दुधकोशी जलविद्युत् आयोजनाहरूको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अब निर्माणका लागि टेन्डर आह्वान गर्न लागिएकाले भेरी–बबई र सुनकोशी–मरिणमा टिबिएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी टेन्डर कागजात तयार गरिने बताए। 

माथिल्लो अरुण विश्व बैंक र दुधकोशी एसियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ। सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइनेछ। 

विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र  स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ।

दुधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ। यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ।

एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ। यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ।

ad
ad