१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१५बुँदे प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५o:oo

नयाँ सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै १५बुँदे प्रस्ताव पारित गरेर एमालेको राष्ट्रिय महाधिवेशन परिषद् बैठक सकिएको छ । २१ फागुनमा बनेकोे नयाँ समीकरणप्रति सन्तुष्ट व्यक्त गर्दै त्यसलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै बैठक सकिएको हो ।

उपमहासचिव विष्णु रिमालले पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको बताए । बैठकले दलहरूबीचको नयाँ समीकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थिर र अन्योलतर्फ धकेल्ने कामप्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान पनि गरेको छ । 

पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने १२ बुँदे कार्ययोजना पास गरेको छ । आगामी ०८४ को निर्वाचनमा पार्टीलाई निर्णायक बलियो राष्ट्रिय शक्ति स्थापित गर्न १२बुँदे कार्ययोजना बैठकले पास गरेको छ । पार्टीको संगठनात्मक ढाँचालाई चुस्त र दुरुस्त बनाउने, सदस्यता नवीकरण तथा सदस्यता विस्तार, पार्टी स्कुलको कामलाई वार्षिक कार्ययोजना बनाई व्यवस्थित गर्ने, प्रचारको कामलाई थप प्रभावकारी बनाउने विषय कार्ययोजनामा समेटिएको छ ।

त्यस्तै, जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, पार्टी कार्यालय व्यवस्थापन गर्ने, अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलापमाथि नियन्त्रण गर्ने, राष्ट्रिय हित र जनसरोकारका मुद्दा आधारित जनपरिचालन गर्ने, नयाँ पुस्ताका बीचमा पार्टी कामलाई प्रभावकारी बनाउने, कार्यकर्ता व्यवस्थापन, प्रवासको पार्टी काम विस्तार र केन्द्रीय कार्यालय भवन निर्माणको विषयसमेत समेटिएको कार्ययोजना पास भएको छ । 

‘पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा विकास गर्ने उद्देश्यअनुरूप पार्टी केन्द्रीय कमिटीको सातौँ बैठकले पार्टी निर्माणका सन्दर्भमा तीन विशेष एजेन्डामा छलफल अघि बढाएको छ । पहिलो, शुद्धीकरण र सुदृढीकरणबारे, दोस्रो, जनआधारित कार्यकर्ता पार्टी निर्माणका सन्दर्भमा र तेस्रो, राष्ट्रिय हित र जनसरोकारका विषयमा जनपरिचालन गर्ने सन्दर्भमा,’ संगठनात्मक प्रतिवेदनमा भनिएको छ, ‘आगामी कार्ययोजनाले उपरोक्त विषयलाई गहिरो गरी आत्मसात् गर्नुपर्छ ।

मिसन ग्रासरुट र समृद्धिका लागि संकल्प यात्राको सफलताले पार्टीपंक्ति योजनाबद्ध रूपमा परिचालित हुने हो भने सफलता सुनिश्चित छ भन्ने देखाएको छ । तर, हाम्रो काम गराई भने अभियानमुखीजस्तो बन्न पुगेको छ । जसबसम्म हामीले पार्टीको नियमित कामलाई नै प्रभावकारी बनाउन सक्दैनौँ, तबसम्म बलियो र निर्णायक शक्तिका रूपमा पार्टीलाई सुदृढ गर्ने उद्देश्य पूरा हुँदैन । तर्सथ अब हाम्रो ध्यान नियमित संगठनात्मक ढाँचाबाट निर्णायक भूमिकामा पार्टीलाई स्थापित गर्ने गरी अहिलेदेखि नै तयारीको काममा जुट्नुपर्दछ ।’

ad
ad