१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १८ मंगलबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोशीलाई तीन वर्षभित्र खोरेतमुक्त प्रदेश बनाउने तयारी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४७:oo

दुग्धजन्य पदार्थ चिज र छुर्पीको निर्यात वृद्धि गर्न कोशी प्रदेशलाई तीन वर्षभित्र खोरेत रोग संक्रमणमुक्त बनाइने भएको छ । कोशीको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आगामी तीन वर्षभित्र प्रदेशलाई खोरेत रोग संक्रमणमुक्त बनाएर चिज र छुर्पीको निर्यात वृद्धि गराउने योजनासहित अभियान थालेको हो । 

मन्त्री रामकुमार खत्रीका अनुसार अगामी वर्षदेखि खोरेतविरुद्धको अभियान थाल्न विज्ञहरूसँग राय लिएर रणनीति तयार गर्न मस्यौदा लेखनको काम भइरहेको छ । मापदण्डअनुसारको रणनीति तयार भइसकेपछि आगामी वर्षदेखि बजेट विनियोजन गराएर खोरेतमुक्त अभियान थालिनेछ । खोरेत रोगमुक्त प्रदेश बनाउन सकियो भने कृषि र पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिने भएकाले अभियान अघि बढाइएको मन्त्री खत्रीले बताए ।

उनका अनुसार खोरेतमुक्त अभियानका लागि ६० करोड रुपैयाँ लाग्ने अनुमान छ । मन्त्रालयका अनुसार कोशी प्रदेशबाट हरेक वर्ष सात अर्ब रुपैयाँभन्दा बढीको छुर्पी र सात अर्बजतिको चिज विभिन्न २५ देशमा निर्यात हुँदै आएको छ । तर, पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दुधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको छ । पशुमा लाग्ने खोरेत रोग उन्मूलन गर्न सके कोशी प्रदेशबाट छुर्पी र चिजको निर्यात अझै बढ्न सक्ने मन्त्रालयले अपेक्षा गरेको छ । 

कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र ओखलढुंगा खोरेत रोगको संक्रमणमुक्त जिल्ला भइसकेका छैनन् । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा पछिल्लो पाँच वर्षयता खोरेतको संक्रमण भेटिएको छैन । इलाम र संखुवासभामा पनि तीन वर्षदेखि खोरेत संक्रमण देखिको छैन ।

प्रदेशका १४ मध्ये इलाम, ताप्लेजुङ, भोजपुर ,तेह्रथुम, खोटाङ र सोलुखुम्बुमा अझै पशुसम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ छैनन् । यसैले ती जिल्लामा भवन निर्माणका लागि पहल थालिसकेको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए ।

ad
ad