१७औँ वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकले ल्यायो छुट योजना

मंगलबार, ४ बैशाख, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि लागू हुने गरी विभिन्न सेवा–सुविधामा भारी छुट र क्यासब्याकलगायतका योजना सार्वजनिक गरेको हो।

सो योजनाअन्तर्गत डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पिओएस मेसिन र अनलाइनमार्फत रु. एक हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा रु. एक सय ७० क्यासब्याक दिइने बैंकले जनाएको छ।

यसैगरी, सिटिजन्स स्मार्टमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पनि रु. पाँच सय वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा रु. एक सय ७० क्यासब्याक प्रदान गरिने बताइएको छ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ।

योजना अवधिभर बैंकले निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्थासमेत गरेको छ। योजना अवधिभर निष्क्रिय मोबाइल बैंकिङ ग्राहकलाई सेवा सक्रिय गर्दा एकमुस्ट रु. एक सय ५० छुट हुनेछ।

सुझावित समाचार