
धुनिबेँसी नगरपालिका– ६ कालीदेवीथानस्थित सानुभाइ बानियाँको घरमा आगलागी भएको छ । घरमा बिजुली सर्ट भई आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको सानुभाइकी श्रीमती कविता बानियाँले बताइन् । घरसँगै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको उनको भनाइ छ ।
घरमा आगलागी भएको खबर पाउनेबित्तिकै दमकल लिएर घटनास्थल पुगेको धुनीबेँसी नगरपालिका– ६ का वडाध्यक्ष रमेश आचार्यले बताए । ‘कविताको घर बचाउन सकिएन । तर, सँगै रहेका अन्य घरहरूमा भने क्षति हुन पाएन, बचाउन सकियो । दमकल नपुगेको भए अन्य घरहरूमा पनि ठूलो क्षति पुग्ने रहेछ,’ उनले भने ।
बिजुली सर्ट भएर आगलागी हुँदा कविताको घरमा रहेको ६ मुरी धान, ६ मुरी मकै, तीन मुरी कोदो, एक मुरी तोरी, लत्ताकपडालगायतका सामग्री जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक्ष आचार्यले बताए ।
‘घरसँगै अन्य सबै सामग्री जलेर नष्ट भएकाले परिवारलाई केही दिनका लागि पुग्ने खाद्यान्न सामग्री लगेर दिएका छौँ । के गर्न सकिन्छ अन्य सहयोग पनि गर्ने तयारीमा छौँ,’ वडाध्यक्ष आचार्यले भने ।