
छुरा प्रहार गरेर व्यक्तिको हत्या गरी फरार भएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेर फरार भएका दिक्तेल रूपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
१ वैशाख साँझ ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनीहरूले शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । छुरा प्रहारबाट घाइते राईको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले फरार रहेका तीनैजनालाई स्थानीय प्रहरीको सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी– १० बाट ३ वैशाखमा पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको खोटाड प्रहरीले जनाएको छ ।