१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ आज

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डले ब्लास्टिङको स्विच थिचेर सुरुङमार्ग ब्रेक थ्रु गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३६:oo

नेपालको पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को मुख्य टनेल ‘ब्रेक थ्रु’ सोमबार हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो एक बजे स्विच थिचेर ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम तय गरिएको छ । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ । 

यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । मुख्य टनेल भने सोमबार ब्रेक  थ्रु गरिने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।  

ब्रेक थ्रु समारोहमा नेपाल सरकार, नेपालस्थित जापानिज दूतावास, ऋण सहयोग गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनलगायत निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति हुनेछ । 

यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो । तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो । त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो । स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो । यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको यो सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ ।

२२ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लागतमा यो परियोजना बन्दै छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गरेको छ । यो आयोजना बनाउन विभाग र निर्माण कम्पनीबीच सेप्टेम्बर ०१९ मा सम्झौता भएको थियो । ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको साढे तीन वर्षपछि मुख्य टनेल ब्रेक थ्रु हुन लागेको हो । 

परियोजना सञ्चालनमा आउन भने थप एक वर्ष समय लाग्ने बताइएको छ । सुरुङमार्गलाई ब्रेक  थ्रु गरेर मात्र हुँदैन, भित्रको सडक ढलान गर्नुपर्ने हुन्छ । साथै, भित्ताहरू पनि विशेष रूपमा ढलान गर्नुपर्छ । यसैगरी, सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तापक्रम मिलाउनेलगायत काम गर्नुपर्छ । त्यसका लागि ६ महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि पनि सुरुङलाई सञ्चालनका लागि योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय पर्खनुपर्छ । यसका अलावा आयोजनाअन्तर्गतको फ्लाई ओभर बनाउने काम पनि बाँकी छैन । त्यो सुरुङमार्ग अगाडि नै बनाउन सकिन्छ । यी यस्ता काम सम्पन्न गर्न थप एक वर्ष समय लाग्ने आयोजना कार्यालयको भनाइ छ । 

ad
ad