
एसिसी प्रिमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो।
ओमानको अल अमेरात मैदानमा दीपेन्द्र र आसिफ शेखले अर्धशतक बनाए। २१ बल खेलेका दीपेन्द्रले तीन चौका र सात छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको सबै बलमा उनले छक्का लगाए। यसैगरी, ४१ बल खेलेका आसिफ शेखले ६ चौकाको मद्दतले ५२ रन जोडे।
ओपनर कुशल भुर्तेल १२, कुशल मल्ल ३५ र क्याप्टेन रोहित पौडेल १८ रन बनाएर आउट भए। सन्दीप जोरा सात तथा गुल्सन झा र विवेक यादव पाँच -पाँच रन जोडेर पेभेलियन फर्किए।
टस हारेर पहिले बलिङको निम्तो पाएको कतारका लागि हिमांशु राठोर र मुसवर साहले समान तीन–तीन विकेट लिँदा अमिर फारुकले एक विकेट निकाले।