१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमा इसिगरेट प्रयोग बन्देज लगाउन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo

चिकित्सक तथा सांसदहरूले भेप र इसिगरेट पूर्ण रूपमा बन्देज लगाउन माग गरेका छन् । ह्याम्स अस्पतालले शुक्रबार राजधानीमा आयोजना गरेको ‘स्वास्थ्य सबैको सरोकार’ नामक स्वास्थ्यसम्बन्धी बृहत् संवाद र छलफल कार्यक्रममा विभिन्न दलका सांसद तथा स्वास्थ्यकर्मीले भेप गम्भीर स्वास्थ्य चुनौती बनेको बताउँदै यसलाई पूर्ण रूपमा बन्देज लगाउन माग गरेका हुन् ।

ह्याम्स अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरूसँग संवाद गरिएको हो । ‘भेप–इसिगरेट : बढ्दो गम्भीर स्वास्थ्य चुनौती’ विषयमा पल्मोनोलोजिस्ट डा. राजु पंगेनी र डा. रक्षा पाण्डेले प्रस्तुति दिएका थिए । जसमा सांसद प्रदीप पौडेल, महेश बर्तौला, माधव सापकोटा, मनीष झासहित स्वास्थ्यसचिव डा. रोशन पोखरेल, हिसानका उपाध्यक्ष टंकराज आचार्य तथा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आ–आफ्ना विचार राखेका थिए ।

अधिकांश वक्ताले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि करको दायरा बढाउँदै लानुपर्ने र भेप नेपालमा प्रतिबन्ध लगाउनुपर्ने बताए । ‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा भेप र इसिगरेटको बढ्दो प्रयोग चुनौती बन्दै गएको छ । भेप र इसिगरेटलाई पूर्ण रूपमा बन्देज लगाउन आवश्यक देखिएको छ । सुर्तीजन्य पदार्थबाट संकलन भएको करको २५ प्रतिशत स्वास्थ्यमा खर्च गर्न हामीले आठ वर्षदेखि माग राख्दै आएका छौँ । तर, अहिलेसम्म ४० करोड मात्रै पाइरहेका छौँ,’ स्वास्थ्यसचिव पोखरेलले भने ।

दोस्रो सत्रमा ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरू’ विषयमा डा. भगवान कोइरालाले प्रस्तुति दिएका थिए । प्यानल संवादमा सांसदहरू गगन थापा, योगेश भट्टराई, देवेन्द्र पौडेल, डा. चन्दा कार्कीसहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, डा. अञ्जनीकुमार झा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, डा. चोपलाल भुसाल, नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष सरला केसी तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भाग लिएका थिए । सांसद थापाले मेडिकल शिक्षा दिइरहेका कलेज तथा विश्वविद्यालयको गुणस्तरमा सरकारले ध्यान दिनुपर्ने अवस्था आएको बताए । 

मेडिकल काउन्सिलका अध्यक्ष भुसालले विदेशबाट पढेर नेपाल फर्किने चिकित्सकसमेत लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल भइरहेको र गुणस्तर मापनमा ध्यान नदिँदा समस्या भइरहेको बताए । ‘बाहिरबाट पढेर आएका चिकित्सकहरू लाइसेन्स परीक्षामा ७० प्रतिशत फेल भइरहेका छन् । हामीकहाँ उत्पादन भइरहेको जनशक्तिको गुणस्तरसमेत खस्किँदै गएको छ । स्वास्थ्यकर्मीको संख्या बढाउने मात्र नभई कस्तो शिक्षा लिइरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्ने समय आएको छ,’ उनले भने ।

हाल देशभर ६७ लाखले सुर्तीजन्य पदार्थको प्रयोग गर्दै आएका छन् । पछिल्लो समय चुरोट अर्थात् धूम्रपानको तुलनामा धूवाँररहित सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको पछिल्लो अध्ययन रिपोर्टअनुसार हुक्का र इसिगरेट तान्नेमध्ये अधिकांश युवा छन् । 

ad
ad