१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
दीपक शर्मा सल्यान
२o८१ बैशाख १८ मंगलबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जंगलको डढेलो बस्तीमा पस्दा १३ घरगोठ जलेर नष्ट

Read Time : < 1 मिनेट
दीपक शर्मा सल्यान
नयाँ पत्रिका सल्यान
२o८१ बैशाख १८ मंगलबार o७:२६:oo

वनमा लागेको डढेलो बस्तीमा पस्दा सल्यानमा १३ घरगोठ पूर्ण रूपमा जलेका छन् । बस्तीमा पसेको डढेलोले कपुरकोट गाउँपालिका– ६ रैजेखोला बस्तीका चार र छत्रेश्वरी गाउँपालिका– ४ दुदिलेका दुई र वडा नम्बर ७ मा सात घरगोठ जलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रैचेखोलाका हरिबहादुर बोहरा, वीरबहादुर बोहरा, तिलक बोहराको घर र मोहनलाल बोहराको गोठ पूर्ण रूपमा जलेका छन् । यस्तै, छत्रेश्वरी गाउँपालिका– ४ देुदिलेका दलबहादुर विक र कुसबहादुर खत्रीको गोठ जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । 

बस्तीमा पसेको आगोले छत्रेश्वरी गाउँपालिका– ७ रावतगाउँका भीमबहादुर थापाको घर र गोठ, सुमन रावतको घर, दिली रावतको घर र गोठ, कृष्ण रावत, ज्ञानबहादुर रावत, हरिबहादुर विकको घर र डिल्लीबहादुर रावतको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट छत्रेश्वरी– ७ मा मात्र २० लाखबराबरको क्षति भएको कार्कीले बताए । विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा लागेको आगो नियन्त्रणबाहिर हुँदा जंगलनजिकै रहेका बस्ती उच्च जोखिममा रहेको उनको भनाइ छ । उनका अनुसार हावाहुरी चल्दा आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ । 

छत्रेश्वरीमा लागेको डढेलो कपुरकोट गाउँपालिका– ६ को जंगलमा प्रवेश गर्दा ६ नम्बर वडाका रैजेखोला, एकपाखे, तारूपरे, खानीलगायत थुप्रै जंगलमा भीषण आगलागी भइरहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । आगोले फलफूलको बिरुवा र तरकारीसमेत जलेर लाखौँको क्षति भएको उनको भनाइ छ । 

ad
ad