मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख १ शनिबार
  • Tuesday, 18 August, 2026
२o८१ बैशाख १ शनिबार o७:१५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आँगनमा सकेट बम राखेर करोडौँ मूल्यको बुद्धचित्तको रुख काटियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १ शनिबार o७:१५:oo

काभ्रेको रोशी गाउँपालिका– ५ नागवेलीमा अज्ञात समूहले करोडौँ आम्दानी हुने बुद्धचित्त मालाको रुख काटेको छ । शुक्रबार बिहान करिब १ बजेतिर १५–२० जनाको समूहले घरको आँगनमा सकेट बम राखी मेसिनले रुख काटेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले रोशी– ५ की ठाकुरानीको जग्गामा रहेको बुद्धचित्त मालाको बोटको वरिपरि लगाएको तारजालीको गेटको ताल्चा फोडेर रुख काटेर मानिसहरू फरार भएको जानकारी दिए । सूचना प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनास्थलमा फेला परेको सकेट बम नेपाली सेनाको कालीजंग गणले डिस्पोज गरेको बताए । घटनास्थलमा ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट र हँसिया हथौडाअंकित झन्डा फेला पारेको प्रहरीले जानकारी दिएको छ । 

बुद्धचित्त रुखधनी ठाकुरानीकी छोरा डिलबहादुर तामाङका अनुसार राति अनुमानित १५–२० जनाको समूह जबर्जस्ती प्रवेश गरी रुख काटिएको हो । ‘हामी सुतिरहेका थियौँ । एक्कासि मानिसहरू आई ताल्चा फोडेर बुद्धचित्तको बोट काट्न थाले । झ्यालबाट हेर्दा उनीहरूको साथमा हतियार पायौँ । ज्यान जोगाउन पनि चुपचाप बस्यौँ,’ उनले भने । रुख काटिसकेपछि ‘नेकपा माओवादी जिन्दावाद’ भन्ने नारा लगाउँदै उनीहरू भागेको तामाङले बताए । 

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले कुन समूहले रुख काटेको हो भन्ने थाहा नभएको बताए । ‘घटनास्थल पुगेर हेर्दा आँसु रोकिन्न । रुखधनीको करोडौँ आम्दानीको स्रोत गुमेको छ । पालिकाको राजस्व गुमेको छ,’ उनले भने, ‘जोसुुकै भए पनि तत्काल छानबिन गरी दोषीलाई पहिचान गरी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेका छौँ ।’ बुद्धचित्तको बोटबाट ५–ट वर्षदेखि करोडौँ आम्दानी भइरहेको धनी तामाङले बताए । गत वर्ष रुखबाट ९० लाखको माला बेचिएको थियो । मालाको रुख काट्ने समूहको खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।