Skip This
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o चैत ३० शुक्रबार १२:३६:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

केही दिनमा समिति र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १२:३६:oo

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। महराले दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन्।

माओवादी केन्द्रबाट चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि २५ गते शपथसँगै  तीन दलका तीनजनालाई  विनाविभागीयमन्त्री नियुक्त गरेका महराले विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। एमालेका चेतनारायण आचार्य, माओवादीका दीपेन्द्रकुमार पुनमगर र जसपाका भण्डारीलाल अहिर विनाविभागीयमन्त्रीमा नियुक्त भएका छन्।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार वैशाख २ गते संसदीय समितिका सभापतिहरूको टुंगो लगाउने र वैशाख ३ गते मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी भएको छ। प्रदेश सभाका संसदीय समितिहरू नयाँ निर्वाचनपछि एक वर्षभन्दा पनि बढी समयदेखि नेतृत्वविहीन अवस्थामा छन्। ६ वटा समितिमध्ये दुईवटा समितिको नेतृत्व कांग्रेसलाई दिने गठबन्धनको तयारी छ।

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले लेखा र कृषि समिति कांग्रेसलाई दिने तयारी भएको बताए। अन्य समितिको सभापतिहरूबारे गठबन्धनको छलफलबाट टुंगो लगाइनेछ।

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूले ०७९ पुस १७ गते शपथ लिएका थिए। दोस्राे प्रदेश सभाको पहिलो अधिवेशन ०७९ पुस १८ मा सुरु भएको थियो भने सभामुख र उपसभामुख चयन माघ ३ मा भएको थियो। लुम्बिनीमा पहिलो अधिवेशनको समयमा समिति बन्न नसकेको अवस्थामा दोस्राे अधिवेशनमा समिति गठन भए पनि तिनले अझै नेतृत्व पाएका छैनन्।

माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारूले मन्त्रालय तथा मन्त्रीहरूबारे दलहरूबीच तथा दलभित्र छलफलपछि टुंगो लाग्ने बताए। सरकारका प्रवक्ता दीपेन्द्रकुमार पुनमगरले गठबन्धनमा सामेल दलहरूले कति र कुन मन्त्रालय लिने भन्ने विषय छलफलमै रहेको बताए।

माओवादी केन्द्रले मुख्यमन्त्रीबाहेक दुई, एमालेले पाँच, जसपाले दुई, स्वतन्त्रले एक मन्त्रालय लिने गरी छलफल भएको उनको भनाइ छ। त्यस्तै, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबारे पनि छलफल जारी रहेको उनले बताए। नाउपालाई एक मन्त्रालय दिने भन्नेमा छलफल भएको, तर उसले दुई मन्त्रालय माग गरेको बताइएको छ।

त्यस्तै, एकीकृत समाजवादीलाई मन्त्रालय दिने भन्ने विषय छलफलमै रहेको पुनले बताए। मन्त्रालयको संख्या नबढ्ने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य भइरहेको उनको भनाइ छ।

केन्द्रीय सत्तासमीकरण फेरबदलका कारण अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते राजीनामा दिएका थिए। चौधरीको राजीनामापछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यहाँ एक सिट भएको नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरूबीच  सहमति भएको थियो।