
भारतीय फिनटेक कम्पनी फोन पेले होटेल संघ नेपाल र इसेवासँग साझेदारी गरेको छ । कम्पनीले फोन पे नेटवर्कमा युपिआईको प्रयोग बढाउने उद्देश्यले नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको फेवा महोत्सवमा होटेल संघ नेपालसँग साझेदारीको घोषणा गरेको हो ।
यो साझेदारीमार्फत फेवा महोत्सव नेपालभरिका आन्तरिक पर्यटकमाझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय रहेको पाइन्छ । परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकार, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारको संगीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा संगीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालालगायतका सांस्कृतिक प्रस्तुतिको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अनुपम अवसर प्रदान गर्दछ ।
यो साझेदारीले फेवा नयाँ वर्ष महोत्सवमा ग्राहकलाई डिजिटल भुक्तानीमा सहजता हुने कम्पनीले जनाएको छ । साथै, कम्पनीले स्थानीय व्यापारीहरूबीच डिजिटल भुक्तानीका बारेमा चेतना जगाउने उद्देश्यले थुप्रै गतिविधि गर्ने बताएको छ । डिजिटल ब्रान्डिङ, भुक्तानी सेवा प्रयोग गर्ने तरिका तथा युपिआईमार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यसहित अन्य गतिविधिका लागि इसेवा र भारतीय फोनपेले होटेल संघ पोखराको सहकार्यमा गर्न लागेको हो । महोत्सवमा तीन हजारभन्दा बढी व्यापारी सहभागी हुनुका साथै एक लाखभन्दा बढी आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
फोनेपे इन्टरनेसनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक रितेश पाईले फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटेल संघ नेपालसंग साझेदारी गरी नेपालमा युपिआई प्रणालीलाई लोकप्रिय बनाउन पाउँदा उत्साहित भएको बताए । ‘पोखरा जस्तो सुन्दर ठाउँको सङ्गीत, खाना र संस्कृतिको अनुभव गर्न हरेक वर्ष भारतबाट थुप्रै पर्यटक नेपाल आउँछन् । त्यसैले हाम्रो फोकस नेपालमा फोनपे नेटवर्कमा युपिआईको स्थान सुनिश्चित गर्न व्यापारीहरूलाई सचेतना र जागरुकता सिर्जना गर्नमा केन्द्रित हुनेछ,’ उनले भने, ‘यो साझेदारीले नेपालको डिजिटल परिदृश्यमा परिवर्तन ल्याउनुका साथै भारतीय एजयलभएभ प्रयोगकर्ताहरूले जुनसुकै स्थानमा आफ्नो आवश्यकताअनुसार सहजै लेनदेन गर्न सक्नेछन् ।’
साथै, इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले फेवा नयाँ वर्ष महोत्सवका लागि फोनपे र होटेल संघ नेपालको साझेदारी नेपालमा डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने सुनौलो अवसर रहेको बताए । नेपाली पर्यटनका लागि भारतीय पर्यटक प्रमुख आधार भएकाले यो कदमले भारतीय पाहुनाको आवश्यकता पूरा हुन सहज हुने बताए ।